धरान/ नेपाल बिद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका प्रमुख राजिव सिंहले रक्सी खान नदिएको झ्वाँकमा विर्तामोडको एक होटलमा बुधबार मध्यरातदेखि २३ घण्टासम्म बिद्युत काटेका छन् ।
प्राधिकरणको अनारमनी वितरण प्रमुख सिंह बुधबार राती १२ बजे विर्तामोडको होटल हिकोला हेरिटेजमा रक्सी खान आएका थिए । होटल सञ्चालक देविभक्त श्रेष्ठले होटल तथा बार बन्द भइसकेको भन्दै नखोलेपछि आक्रोशित उनले कर्मचारी बोलाएर बिजुली काट्न लगाएका हुन् । ‘प्रमुख सिंहले होटलमा आएर पहिलेपनि बेहोस हुनेगरी रक्सी खानेगरेका थिए, धेरैपटक हामीले बोकेर गाडीमा हालेका हौं उनलाई, श्रेष्ठले भने, ‘हिजो पनि त्यो बेला आएर बार खोल्न भन्दा मैले नमानेपछि उनले बिजुली काट्न लगाए ।’
होटलले राती बार नखोलेपछि सिंहले दुःख पाउने भयौ भन्दै कार्यालय तर्फ लागेको जानकारी श्रेष्ठले दिए । त्यसको केही समयपछि मोटरसाइकलमा आएका दुइजना युवाले होटलको बिद्युत काटेको श्रेष्ठले बताए । रक्सीको नसामा होटलको बिद्युत काटेपछि उनले बिहान आँफै कर्मचारीलाई बिद्युत जोड्न पठाएका थिए ।
श्रेष्ठले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि मात्र बिद्युत जोड्नु भनेपछि ति कर्मचारी फर्किएका थिए ।घटनापछि होटल ब्यवासायी संघका अध्यक्ष भोलानाथ उप्रेतीले राती नै फोन गरेर सिंहलाई बिद्युत काटिएको बारे जानकारी लिएका थिए ।
सिंहले उप्रेतीसँगको सम्वादमा ‘मेरो कार्यालय २४ घण्टा नै खुल्छ, पीडित भनिएका श्रेष्ठलाई निवेदन हाल्न लगाउनु म भोली जोडिदिन्छु’ भनेका थिए । जसको अडियो रेकर्ड ब्लाष्टसँग सुरक्षित छ । अडियोमा उनले लरबरिएको स्वरमा श्रेष्ठसहित ४ घरको बिद्युतमा समस्या आएर काट्नु परेको बताएका छन् ।
यद्यपी रक्सी खान नदिएको बारेमा उनले कुनै कुरा गरेका छैनन् । पीडित श्रेष्ठले प्रधिकरण प्रमुख सिंहको दादागीरि बिरुद्व बिहान विर्तामोडका राजनीतिक दलका नेता, होटल ब्यवसायी संघका प्रतिनिधिसँग छलफल गरेका थिए । लफलका क्रममा प्राधिकरण प्रमुख सिंहले आफुबाट गल्ती भएको भन्दै बिहान ११ बजे बिद्युत जोड्न लगाएका थिए ।
श्रेष्ठसँग माफी मागेपछि उनले मातेको सुरमा बिद्युत काटेपछि भएको समस्याको क्षतिपुर्ती दिने बताएका थिए । तर, श्रेष्ठले त्यो क्षतिपुर्ती लिन अस्विकार गरेका थिए । यता प्रमुख सिंहले आफु जमिन्दारको छोरा भएका कारण कहिलेकाँही रक्सी खाने गरेको बताएका थिए ।
रक्सीको नसामा गलत भएको भन्दै होटल ब्यवसायीले त्यसलाई सामान्यरूपमा लिनुपर्ने उनको तर्क थियो । उनले बिद्युत प्रधिकरणका भिआइपीहरू आएको समयमा होटल नखोलेको हुनाले आवेसमा आएर बिद्युत काटेको प्रतिक्रिया दिएका थिए ।