भद्रपुर/ भद्रपुर नगरक्षेत्रमा श्रखलाबद्ध रुपमा चोरीको घटना बढिरहेको बेला प्रहरीले दुई जना भारतीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने भारत पश्चिमबंगाल नक्सालबाडी बस्ने १६ बर्षिय राहुल सोर्या र बिहार गलगिलया बस्ने ३० बर्षिय मोहम्मद जवहुल रहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । उनीहरुलाई बुधवार राती भद्रपर ८ स्थित सुरज रेग्मीको घरमा चोरी गरिहेको अवस्थामा प्रहरीले पक्राउ गरेको वडाका इन्सपेक्टर कुलप्रसाद चौधरीले जानकारी दिए । घरको झ्यालबाट मोबाइल चोरी गर्न खोजेको बेला घरधनी रेग्मीले थाहा पाएपछि स्थानीयको सहयोगमा प्रहरीले चोर पक्राउ गरेको हो । प्रहरीलाई बुझाउन अघि स्थानीयले एक जना चोरको टाउको फुटाएर घाइते समेत बनाइदिएका थिए । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेका मोहम्मद जबहुल तीन बर्षदेखि नेपालमा चोरी गर्दै आइरहेको प्रहरीलाई बयान दिएको छ । भने, राहुल विगत ६ महिनादेखि चोरीको घटनामा सम्लग्न भएको बताइएको छ । हाल सम्म उनीहरुले नेपालबाट ५० बढी साइकल र २५ बढी मोबाइल, पर्स सहित नगद चोरी गरिसकेको प्रहरीलाई बयान दिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइसकेको इन्सपेक्टर चौधरीले बताए । केही समययता भद्रपुर नगर क्षेत्रमा दिनहु राती चोरी हुन थालेको थियो । गएको १५ दिनमा भद्रपुरमा एक दर्जन घर तथा पसलमा चोरी भइसकेको छ ।