विराटनगर / वरिष्ठ समाजसेवी एवम् स्वतन्त्र सेनानी शिवदत्त उपाध्याय भट्टराईलाई विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ । धार्मिक, सामाजिक, सांस्कृतिक, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका भट्टराईलाई शुक्रबार विराटनगरमा वृहत कार्यक्रमको आयोजना गर्दै अभिनन्दन गरिएको हो ।
नेपाली कांग्रेसका सांसद अशोक कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा भट्टराईलाई विशेष सम्मान गरिएको हो । सम्मान कार्यक्रममा बोल्दै कोइरालाले सामाजिक राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गर्न पाउनु आफ्नोलागि जीवनकै सुखद् पल भएको विचार व्यक्त गर्नुभयो । अभिनन्दित व्यक्तित्वको विषयमा छोटो समयमा व्याख्या असम्भव रहेको बताउँदै उहाँले भन्नुभयो, ‘शिवदत्त उपाध्याय भट्टराईले समाजमा पुर्याएको योगदानबाट हामी सबैले पाठ सिक्न आवश्यक छ ।’ ‘यसअघि ‘गोरखा दक्षिणबाहु’, ‘एम्बेस्डर फर फिस’ लगायतका दर्जनौं पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएका स्वतन्त्र सेनानी भट्टराईलाई अभिनन्दन गर्न पाउनु हाम्रोलागि गर्वको विषय हो ।’ नागरिक अभिनन्दन समारोह समितिका अध्यक्ष भीखमचन्द ‘सरल’ले भन्नुभयो, ‘शिवदत्तजी यो समाजमै उदाहरणीय व्यक्तित्व हुनुहुन्छ ।’ कार्यक्रममा बोल्दै प्राज्ञ दधिराज सुवेदीले बहुआयमिक प्रतिभालाई सम्मान गर्न पाउनु सबैकोलागि उत्साहको विषय रहेको विचार व्यक्त गर्नुभयो । २००७ सालदेखि आजसम्म आउँदा भट्टराईले गरेको सामाजिक, राजनीतिक तथा सांस्कृतिक योगदानको गणना गर्न नसकिने भन्दौ उहाँले भन्नुभयो, ‘जोश, जाँगर, उत्साह र सकारात्मक सोचले भरिएका व्यक्तित्वलाई पछिल्लो पुस्ताले चिन्न आवश्यक रहेको छ ।’ जनक्रान्तियोद्धको रुपमा भूमिका निर्वाह गर्नुभएका भट्टराई ८८ वर्षको उमेरमा पनि सामाजिक रुपमा सकृय हुनुहुन्छ । २००७ सालको जनक्रान्तिमा भोजपुर जिल्लामा नारदमुनि थुलुङको नेतृत्वमा स्वतन्त्र सेनानीको रुपमा काम गर्न सफल उहाँले शिक्षा, स्वास्थ्य, धर्म–संस्कृति, सामाजिक सेवा लगायतमा जीवनका धेरै समय विताउनुभएको छ । आफ्नै सहयोगमा विभिन्न ठाउँमा विद्यालय स्थापना गर्नेदेखि स्वास्थ्य संस्था तथा मन्दिर निर्माणको कार्यमा उहाँको महत्वपूर्ण योगदान रहँदै आएको छ । गृह जिल्लामा विद्यालय, हेल्थपोष्ट निर्माण गराउनुका साथै अन्य सामाजिक गतिविधिमा उहाँको सकृयता उल्लेख्य रहेको पाइन्छ । सरकारी सेवामा आवद्धता भएसँगै विगतमा लामो समयसम्म रेडक्रसमा आवद्ध रहेर विभिन्न सामाजिक काममा उहाँको योगदान पाइन्छ । सनातन धर्म सेवा समिति मोरङ शाखाको अध्यक्षको रुपमा विगत लामो समयदेखि काम गर्दै आउनुभएका भट्टराईले आफ्नै नेतृत्वमा ‘सनातन सामुदायिक भवन’ निर्माण गराउनुभएको थियो ।