काठमाडौं/ नेपाल आयल निगमले काठमाडौंमा आइतबारदेखि पेट्रोलको आपूर्ति बढाउने भएको छ ।

रक्सौल तथा बरौनीबाट ल्याउने गरिएकोमा आइतबारदेखि नेपालगञ्ज, भैरहवा तथा अम्लेखगञ्जबाट पनि पेट्रोल ल्याएर आपूर्ति बढाउन लागिएको निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिए ।

निगमले शुक्रबार काठमाडौंमा ७ लाख लिटर पेट्रोल दिएको र आज शनिबार भएपनि डिपो खुल्ला राखेर साढे ३ लाख लिटर पेट्रोल वितरण गर्ने जानकारी पनि उनले दिए ।

काठमाडौंमा दैनिक साढे चारलाख लिटर पेट्रोलको माग रहेको र दैनिक मागभन्दा आपूर्ति बढी भएकाले पेट्रोलपम्पमा लाइन लाग्नु नपर्ने उनले बताए । तर काठमाडौं उपत्यकाका पेट्रोल पम्पमा सवारीसाधनकोे लामो लाइन लाग्ने गरेको छ ।

यसैबिच आयल निगमले यसअघि मट्टीतेल भण्डार गर्ने गरेको ट्यांकीमा पनि पेट्रोलको स्टक राख्ने भएको छ । २१ सय लिटरका २ वटा ट्यांकी सफा गरिसकिएको र ३ हप्ताभित्र ती ट्यांकीमा पनि पेट्रोल भण्डारण सुरु गर्ने निगमका प्रवक्ता पोखरेलले जानकारी दिए ।