धरान/घुमखहरे निवासी टीका (नाम परिर्वन) ले १४ वर्षको उमेरमै विवाह गर्नुभयो । विवाह भएको एक वर्षमा नै उहाँको पहिलो बच्चाको जन्म भयो ।
उमेर नपुग्दै बिहे गरेकी उहाँले उचित स्याहार पाउनु भएन । उहाँको (आङ) अर्थात् पाठेघर खस्यो । समयमा नै उपचार नपाउँदा उहाँको पाठेघर नै झिकेर फालियो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
उहाँ भन्नुहुन्छ्, ‘धेरै पीडा सहेँ, कतिबेला त मरेर पनि बाँचिरहे । डरले गर्दा परिवार र श्रीमान्लाई भनिन, समयमा नै उपचार नहुँदा धेरै दुःख पाएँ ।’ गाउँमा पाठेघरसम्बन्धी उपचार शिविर सञ्चालन भएको बेला उहाँको पाठेघर नै झिकेर फाल्नु पर्यो । आफूले सानैमा बिहे गर्दा अहिले आधा शरीरको भरमा बाँच्नु परेको उहाँले दुखेसो पोख्नुभयो ।
बाबियाचौरकी हरिकला (नाम परिवर्तन) को पनि पीडा उस्तै छ । कक्षा सातमा पढ्दापढ्दै भागेर बिहे गर्नुभयो । सानै उमेरमा विवाह गर्नुभएकी उहाँले १६ वर्षको उमेरमा नै बच्चा जन्माउनुभयो ।
उहाँले सुत्केरी अवस्थामा राम्रो स्याहार पाउन सक्नु भएन जसको परिणाम आङ खस्ने समस्याको सिकार हुनुभयो । सानै उमेरमा बच्चा जन्माउँदाको परिणाम उहाँले अहिले भोग्नु परेको छ । उहाँ भन्नुहुन्छ, ‘पाठेघर खसेको आठ वर्ष भयो । विवाह भएको केही वर्षसम्म त श्रीमानसँग राम्रै सम्बन्ध थियो तर जब मेरो पाठेघर खस्यो तब श्रीमान् टाढिए ।’
समयमा नै उपचार नपाउँदा र रोग लुकाउँदा उहाँको पनि पाठेघर झिकियो । त्यसपछि उहाँका श्रीमान्ले दोस्रो बिहे गरे । पाठेघर खसेको पीडाभन्दा पनि ठूलो पीडा छ उहाँलाई श्रीमानले आफूलाई छोडेकोमा । उहाँ भन्नुहुन्छ, ‘घरपरिवार र श्रीमानलाई मेरो पीडा सुनाउन सकिनँ, आफैं मर्नु न बाँच्नुको अवस्थामा पुगें ।’
बालविवाहका कारण महिलाहरूमा पाठेघर खस्ने समस्या बढ्दै गएको छ । सानै उमेरमा विवाह गर्दा मानसिक र शारीरिक रूपमा पर्ने असरबारे थाहा नहुनु र बच्चा जन्माउँनुले पनि पाठेघर खस्ने समस्या बढ्दै गएको एक तथ्यांकले देखाएको छ ।
जिल्लाका विभिन्न स्थानमा गरिएको अध्ययनले यस्तो समस्या देखाएको हो । प्रजनन् स्वास्थ्यको क्षेत्रमा कार्यरत एक गैरसरकारी संस्थाका अनुसार पनि सुर्खेतमा ४२ प्रतिशत महिला यो समस्याबाट पीडित छन् ।
सीमान्तकृत महिलाका लागि महिला संस्था (वाम) ले दिएको जानकारीअनुसार यो जिल्लाका केही स्थानको मात्र तथ्यांक हो । जिल्लाको ग्रामीण क्षेत्रका महिलामा यो समस्या बल्झिँदै गएको संस्थाको भनाइ छ ।
कम उमेरमा बिहे गर्ने र बच्चा जन्माउनाले यो समस्या बढेको हो । सुर्खेतमा ४२ प्रतिशत महिलामा पाठेघर खस्ने समस्या रहेको वामले जानकारी दिइएको हो ।
केड नेपालकी अरुणा चौधरी सानै उमेरमा विवाह गरी बच्चा जन्माउँदा महिलाहरूमा पाठेघर खस्ने समस्या बढी देखिएको बताउनुहुन्छ ।
उहाँले कम जन्मान्तरमा धेरै बच्चा जन्मनेजस्ता मुख्य समस्या र हानिकारक संस्कारले गर्दा महिलाहरूमा मानसिक असर पर्ने गरेको बताउनुभयो ।
नेपालमा अहिले करिब दस लाख महिला पाठेघर खस्ने समस्याबाट पीडित रहेको उहाँको भनाइ छ । उहाँले बालविवाहलाई न्यूनीकरण गर्न विद्यालयस्तरमा प्रजनन् स्वास्थ्यसम्बन्धी पाठ्यक्रम तयार पार्नुपर्ने सुझाव दिनुभयो ।
गर्भवती, किशोरकिशोरी, बालबालिका र नवविवाहित जोडिलाई लक्षित गर्दै सुर्खेतका खानीखोला, डाँडाखाली, राकम, लेखगाउँ, कुनाथरी, पोखरीकाँडा, विद्यापुर, बजेडीचौर र गुठुमा किशोरकिशोरी यौन तथा प्रजनन् स्वास्थ्य र अधिकारसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । सन् २०३० सम्ममा पाठेघर खस्ने समस्या रोक्ने सरकारी लक्ष्य छ । दैनिकनेपाल