अभिनेता कमल हसनकी हिरोइन छोरी श्रुति हसनले आफू बिहेअघि नै आमा बन्न तयार भएको बताएकी छिन् । ३१ वर्षीया श्रुतिको यो कुराले अहिले बलिउड मात्र होइन, दक्षिण भारतीय फिल्म उद्योगमै चर्चा पाएको छ ।
श्रुतिले हालै एउटा अन्तर्वातामा आफूले चाहेको जस्तो ब्वाइफ्रेन्ड भेटे बिहेअघि नै बच्चा जन्माउन तयार भएको खुलासा गरेकी हुन् । ‘मैले खोजेजस्तो प्रेमी पाएँ भने बिहेअघि नै आमा बन्न मलाई कुनै समस्या छैन,’ उनले भनेकी छिन्, ‘यसमा मिडिया, आफन्त, दर्शकले के भन्लान्, के सोच्लान् भन्ने कुराको मलाई केही मतलब छैन । मात्र मैले सोचेको जस्तो प्रेमी हुनुपर्यो ।’
केही वर्षअघिसम्म आफू एकजना संगीतकारसँग निकै नजिक रहेको, तर पछि आफूहरूबीच ब्रेकअप भएको समेत उनले बताएकी छिन् । ब्रेकअपपछि आफू सिंगल रहेको उनको दाबी छ । ‘म सिंगल छु । मनले खाएको केटा भेटेकी छैन,’ उनले भनेकी छिन्, ‘अहिले म करिअरमै केन्द्रित छु । प्रेमीलाई दिने समय पनि मसँग छैन । त्यसैले नै म सिंगल भएकी हुँ ।’
फिल्ममै करिअर बनाउने ध्याउन्नमा रहेकी श्रुति आफैँ पनि बिहेअघि नै जन्मिएकी हुन् । श्रुति जन्मिएको केही समयपछि मात्रै कमल र सारिकाले बिहे गरेका थिए ।