काठमाडौं /नेपाली महिला अधिकार आन्दोलन र घरेलु श्रमिकका सवालमा घरेलु श्रमिक मञ्चले अन्तरक्रिया कार्यक्रम गरेको छ ।
स्वतन्त्रता अभियान नेपाल र मञ्चको आयोजनमा नेपालमा घरेलु श्रमिकका सवाल र पहिचानमाथि कार्यक्रममा विचारविमर्श भएको थियो । कार्यक्रममा स्वतन्त्रता अभियानकी प्रमुख ऋतु भट्टराईले नेपालमा घरेलु श्रमिकका विविध विषय समेटेको अध्ययनपत्र प्रस्तुत गरेकी थिइन् ।वक्ताहरुले नेपालमा २ लाखभन्दा बढी घरेलु श्रमिकहरुमध्ये ९० प्रतिशत महिला रहेको बताएका थिए । विद्यमान संख्यामा थप २७ प्रतिशत माग रहेको र सो बढ्दो रहेको अध्ययन प्रस्तुत गरिएको थियो ।
भट्टराईद्वारा प्रस्तुत अनुसन्धानमा नेपालमा ८८ प्रतिशत रोजगारदाताले १८ देखि ४० वर्ष उमेरका महिला घरेलु श्रममा माग गरेको उल्लेख छ । ७४ प्रतिशत रोजगारदाता मासिक ५ देखि ७ हजार रुपैयाँसम्म तलब दिन तयार छन् भने १६ प्रतिशत रोजगारदाताले मासिक १० हजार वा सोभन्दा बढी तलब दिन सकिने बताएका छन् । कार्यक्रममा सभासद पेम्बा लामा, महिला अधिकारकर्मी तथा अधिवक्ता इन्दु तुलाधर, अखिल नेपाल महिला संघकी सीतादेवी लगायतका वक्ताहरुले आफ्नो विचार प्रस्तुत गरेका थिए ।