धरान/चितवनको कालिकाखोलामा पहिरो जाँदा बिहीबर राती प्रहरीको गस्तीमा रहेको भ्यान र एउटा नम्बर नखुलेको ट्रक बगाएको छ । गाडीलाई त्रिशुली नदीमा पुर्याएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
राती सडकको गस्तीमा रहेको प्रहरीको ना १ झ १३९० नम्बरको भ्यान र गन्तव्यतर्फ गैरहेको नम्बर नखुलेको ट्रक पहिरोमा परेको चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिए ।
घटना भएको नारायणगढ–मुग्लिन सडक अन्तर्गत कालिकाखोला पहिरोको उच्च जोखिम क्षेत्र हो । केही दिनअघि पनि यहाँ पहिरो खसेर सडक अबरुद्ध भएको थियो । गएराती १ बजेर ५ मिनेटको समयमा घटना भएको थापाले बताए ।
सो घटनामा ईलाका प्रहरी कार्यालय मुग्लिनको प्रहरी सहायक निरीक्षक निश्चल तामाङ सहितका ४ जना प्रहरी सम्पर्कमा छैनन् । घटनास्थलमा अहिले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाट भट्ट सहित सेना, जनपद र सशस्त्र प्रहरीको टोली उद्धारमा छन् । पहिरोका कारण बाटो समेत अबरुद्ध छ ।
राती ९ बजेतीर पनि यहाँका विभिन्न स्थानमा पहिरो गएको थियो । सोही पहिरो हटाएर प्रहरीहरु सडकको गस्तीमा रहेका बेला पहिरो खस्दा पहिरोले बगाएर गाडीलाई त्रिशुलीमा पुर्याएको प्रहरीले जनाएको छ ।