धरान/भरतपुर महानगरपालिका वडा नम्बर १९ मा च्यातिएको मतपत्र आज सर्वाेच्च अदालतमा बुझाइँदैछ । सर्वाेच्चले दिएको म्यादको अन्तिम दिन आज भरतपुरबाट मतपत्र निकालेर सोझै काठमाडौं ल्याइएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले आईतबार भरतपुरमा आयोजना गरेको सर्वदलीय बैठकले मंगलबार बिहान ७ बजे च्यातिएका मतपत्र झिकेर मतपेटिकामा राखेर शिल गरी सर्वाेच्च पठाउने निर्णय गरेको थियो ।
आज बिहान ८ः१५ को उडानबाट सुरक्षाकर्मीसहित मतपत्र सर्वोच्चमा पठाइएको छ ।
च्यातिएका मतपत्र, मतगणना स्थगित गरेको मुचुल्का, मतगणना स्थगनको सूचना, निर्वाचन आयोगलाई बुझाईएको प्रतिवेदन, च्यातिएको मतपत्र गणना गरेको मुचुल्का र च्यातिएका मतपत्र गणना गरेपछि पठाईएको प्रतिवेदनसँगै पठाईएको निर्वाचन अधिकृतको कार्यालय चितवनले जनाएको छ ।
सर्वाेच्च अदालतले जिल्ला प्रशासन कार्यालयसँग माग गरेको मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथि लगाईएको मुद्दाको फाईल र तत्कालिन अवस्थाको प्रहरीको प्रतिवेदन पनि सँगै पठाइएको छ ।
सर्वाेच्च अदालतले भरतपुर महानगरपालिकामा च्यातिएका मतपत्र एक साताभित्र झिकाउन ६ गते मंगलबार आदेश दिएको थियो ।
भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणना जारी रहेको बेला मतपत्र च्यातिएको थियो । महानगरका २९ वटा मध्ये २७ वटाको गणना सम्पन्न भएको छ । वडा नम्बर १९ को मतपत्र निर्वाचन आयोगले बदर गरी पुनः मतदानको निर्णय गरे पनि घटना सर्वाेच्चमा पुगेको हो । सर्वाेच्चले अहिले कुनै काम नगर्नु भनेकाले सवै प्रक्रिया अवरुद्ध छ ।
कामु प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुली र हरिकृष्ण कार्कीको इजलासले च्यातिएका मतपत्र सर्वोच्चमा बुझाउन आदेश दिएको थियो ।
त्यसैगरी आदेशमा मतपत्र च्यात्ने माओवादी कार्यकर्ताको मुद्दाको फाइल पनि पेश गर्न भनिएको छ । भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोही वडाका एमालेका स्थानीय नेता गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए ।
रिट निवेदकका तर्फबाट शम्भु थापा, टिकाराम भट्टराई लगायतले बहस गरेका थिए ।
निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान गराउने गरि गरेको निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । निर्वाचन आयोगको निर्णय गैर संवैधानिक, पूर्वाग्रहपूर्ण रहेको उल्लेख गर्दै रिट दायर गरिएको थियो ।
हुँदै नभएको तथ्यलाई तोडमोड गरी सत्तापक्षका उमेदवार जिताउने योजना रहेको पनि रिटमा उल्लेख गरिएको थियो । मतपत्र च्यातिएको करिब एकसातापछि निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतगणना गराउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएको थियो ।
९० वटा मतपत्र च्यातिएका थिए
भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा ९० वटा मतपत्र च्यातिएको पाइएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार जिल्ला निर्वाचन अधिकृतको कार्यालयले विभिन्न राजनीतिक दलका नेता, उमेदवार, सुरक्षा समितिको रोहबरमा च्यातिएका मतपत्र गणना गर्दा बिहीबार ९० वटा मत गन्नै नमिल्नेगरी च्यातिएको पाइएको छ ।
तर नेकपा एमालेले त्यसमा केही मत गन्न सकिने अवस्थाको रहेको हुँदा धेरै विवाद नगर्न आग्रह गरेको थियो ।
भरतपुर वडा नम्बर १९ मा जम्मा २८९७ मत खसेको थियो भने १८०९ मत गणना भएको थियो । त्यति मत गणना हुँदासम्म नेकपा एमालेका उमेदवार ज्ञवाली माओवादी केन्द्रकी उमेदवार रेणु दाहाल भन्दा ७३३ मतले अघि थिए ।
अब वडा नम्बर १९ मा ९९८ मत गन्न बाँकी रहेको छ । यसैबीच मतपत्र च्यात्ने दुई माओवादी कार्यकर्ता एक एक लाख धरौटीमा रिहा भइसकेका छन् । अदालतको आदेशमा माओवादी केन्द्रका नेताहरु मधु न्यौपाने र द्रोण शिवाकोटीलाई रिहा गरिएको हो ।