काठमाडौं/ नेपाल वायुसेवा निगमले १० करोड रुपैयाँ लागतमा दुईवटा र्‍याम्प बस जर्मनीबाट भित्र्याएको छ ।

जर्मनीबाट पानीजहाज चढाएर ल्याएका ती बस अहिले वीरगन्ज भन्सार नाकामा आइपुगेको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए । बस कोलकाताबाट ट्रकमा १० दिन लगाएर वीरगन्ज ल्याइपुर्‍याइएको हो ।

महाप्रबन्धक कंसाकारका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा पाएको निगमले यात्रुको सहजताका लागि नयाँ बस ल्याएको हो । बस सडकमा गुडाएर ल्याउन नसकिने हुँदा ट्रकमा राखेर ल्याउनुपरेको उनले बताए । अब एक–दुई साताभित्रै बस विमानस्थलमा आइपुग्नेछ ।

विमानबाट ओर्लिएका यात्रुलाई बाहिर ल्याउन नयाँ बस प्रयोग गरिनेछ । यात्रुलाई धावनमार्गबाट बाहिर निकाल्न पुराना बसले अपुग भएपछि जहाज होल्डिङुको सयम बढ्दो थियो । निगमले जहाज अवतरणको समयलाई मध्यनजर गरी नयाँ बस ल्याएको हो । विमानस्थलमा विभिन्न गन्तव्यबाट आएका जहाजका यात्रु बाहिर ल्याउन निगमलाई १५ मिनेटभन्दा बढी समय लाग्ने गरेको छ, जसका कारण जहाज आकाशमै होल्ड गर्नुपरेको गुनासो बढेसँगै नयाँ र्‍याम्प बस ल्याइएको निगमले जनाएको छ ।

‘निगमको प्रमुख आम्दानीको स्रोत ग्राउन्ड ह्यान्डलिङ हो', उनले भने, ‘समस्या समाधान गर्दै विश्वसनीयता बढाउनकै लागि बस ल्याइएको हो ।' निगमसँग अहिले यात्रु बोक्नका लागि पुराना पाँचवटा मात्रै बस छ, जसका कारण यात्रुलाई धावनमार्गबाट समयमै बाहिर निकाल्न सक्ने अवस्था छैन । नयाँ बस आएपछि १५ मिनेटको समय पाँच मिनेटमा झर्ने उनको दाबी छ ।

(अन्नपूर्ण पाेष्टबाट)