धरान/ सुनसरीका सबै स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसके पनि धरान उपमहानगरपालिकाको परिणाम सार्वजनिक हुन भने केहि दिन लाग्ने देखिएको छ ।
मतगणनाका क्रममा विभिन्न विवाद देखिएपछि २ दिनसम्म गणना कार्य रोकिएका कारण धरानको अन्तिम परिणाम आउन समय लाग्ने देखिएको हो । धरानका २० वटा वडामध्ये अहिलेसम्म ९ वटा वडाको गणना सकिएको छ । जसमध्ये वडा नम्बर १, २ र ५ मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नम्बर ३, ४, ६, ७, ८ र १२ मा नेकपा एमाले विजयी भएको छ ।
यस्तै वडा नम्बर ९ र १० को मतगणना सकिए पनि नतिजा बाहिर ल्याइएको छैन । त्यहाँ मतगणना गर्दा कर्मचारीले एमालेको मत बढाएको भन्दै विरोध भएपछि पुनरयोग गर्दा नतिजामा केही फरक परेपछि नेपाली कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपाल लगायतका दलले पुनगणना हुनुपर्ने माग गरेका छन् । तर निर्वाचन आयोगले कुनै निर्णय लिइसकेको छैन ।
यी वडाको पछिल्लो पटक प्राप्त परिणाम अनुसार नेकपा एमाले नै अगाडी देखिएको थियो । अहिले धरानको वडा नम्बर ११, १३ र १४ को मतगणना भइरहेको छ भने १८ को गणना गर्ने आयोगको तयारी छ । तर दलका प्रतिनिधिहरु उपस्थिति नहुँदा गणना सुरु हुन सकेको छैन । १८ सहित अझै ६ वटा वडाको लगभग २५ हजार मत गन्न बाँकी रहेको बुझिएको छ ।
जसअनुसार यो मत गनिसक्न अझै केहिदिन लाग्ने सक्ने देखिएको छ । यस्तै नेपाली कांग्रेस, माओवादी केन्द्र र संघीय समाजवादी फोरम नेपाल लगायतका दलले यसअघि मतगणना सम्पन्न भइसकेका अन्य वडाको पनि पुनरयोग गर्नुपर्ने माग गरिरहेका छन् ।
जसका कारण ति वडामा पुन विवाद हुने सम्भावना पनि उत्तिकै छ । ती वडामा विवाद देखिए पुनः मतगणनाको माग आउने सम्भावना छ । जसका कारण धरानको मतगणना कहिले सकिन्छ भनेर यसै भन्ने अवस्था छैन ।