सप्तरी/ प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढीपीडितलाई सरकारले प्रतिपरिवार २५ हजारका दरले राहत दिने बताए ।
सप्तरीका विभिन्न खोला र नदीमा आएको बाढीबाट प्रभावित एवं विस्थापित क्षेत्रको स्थलगत निरीक्षणपछि तिरहुत गाउँपालिकाको मैनाकडेरीस्थित भेडियामा आज आयोजित कार्यक्रममा उहाँले घर निर्माणका लागि १५ लाखसम्म सहुलियत ऋणको व्यवस्था मिलाइने र पीडित परिवारलाई जस्तापाता उपलब्ध गराइने आश्वासन दिए ।
राजविराज– कुनौली सडकखण्ड तुरुन्तै सञ्चालनमा ल्याइने जानकारी दिइँदै प्रधानमन्त्री देउवाले जिल्लामा बाढीबाट प्रभावित एवं पीडित परिवारलाई तत्काल राहत र खाद्यान्न सामग्री उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशनसमेत दिइएकोे बताए ।
स्थानीय प्रशासन यथाशीघ्र राहत वितरणको काममा तथा बाढीबाट भत्केका बाँध निर्माण र खोला एवं नदी नियन्त्रणमा जुट्न सम्बद्ध निकायसमेत लाग्नुपर्नेमा उनले जोड दिए । बाढी नियन्त्रणका योजनामा अनियमितताबारे अनुसन्धान गर्न संसदीय समिति गठन गरिने आश्वासन पनि उनले दिए ।
‘‘मोहुली र खाँडो नदीको बाढी नियन्त्रणमा विनियोजित बजेट अनियमितता गर्नेलाई कारबाही हुन्छ । त्यसका लागि संसदीय समिति गठन गरी तत्काल अनुसन्धान गर्न आग्रह गर्छु,’’ सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले भने ।
उनले जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयबाट लहानमा नदी नियन्त्रणका नाममा भ्रष्टाचार भएको भन्ने गुनासोको पनि छानबिन हुने बताए ।
सोही कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माले बाढीबाट सङ्कटमा परेका परिवारलाई तत्काल खाद्यान्न, लत्ताकपडा, औषधोपचार तथा स्वच्छ पानी र विद्युत् सेवा यथाशीघ्र उपलब्ध गराउन स्थानीय प्रशासनलाई निर्देशन दिइएको जानकारी दिए ।
बिहान करिब ११.३० बजे राजधानीबाट हेलिकप्टरमा प्रधानमन्त्री देउवासहित गृहमन्त्री शर्मा, विभिन्न संसदीय समितिका सभापति र सप्तरीका केही सांसदले बाढी प्रभावित ठाउँमा पुगेर निरीक्षण गरे ।
प्रधानमन्त्री देउवाले डेढ किलोमिटर हिँडेर बाढीपीडितको अवस्था बुझ्नाका साथै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सप्तरीको तिरहुत गाउँपालिका भेडियामा पुनःनिर्माण गरिरहेको भत्केको तटबन्धस्थलको समेत निरीक्षण गरे ।
सो अवसरमा प्रजिअ कृष्णबहादुर कटुवालले जिल्लामा बाढीबाट भएको क्षति र पीडित परिवारका लागि राहत र उद्धारबारे जानकारी दिए । कार्यक्रमपछि प्रधानमन्त्री, गृहमन्त्रीसहितले हेलिकप्टरबाट बाढी क्षेत्रको निरीक्षण गरे ।
एक हप्ता अगाडि आएको बाढीले जिल्लामा रहेका खाँडो, विगुल, त्रियुगा, महुली, सुन्दरी खोला, जितालगायत एक दर्जनभन्दा बढी खोला र नदीमा समेत पानीको बहाब बढेको छ।
सो बाढीबाट कञ्चनरुप नगरपालिका तथा तिरहुत, रुपनी, तिलाठी कोइलाडी र कृष्णासवरण गाउँपालिकाका स्थानका दर्जनौँ गाउँमा पानी पसेर डुबानमा पारेको छ । बाढीबाट करिब १ हजार ५०० भन्दा बढी घर डुबानमा परेको बताइएको छ ।
बाढीले खोलाको बाँध ओभरफ्लो र केही ठाउँमा कटानसमेत भएर गाउँ बस्तीतर्फ पसेको थियो । सशस्त्र प्रहरी बेस क्याम्प बर्साइनको छेउमा आएको बाढीमा परी इलाम घर भएका २९ वर्षीय प्रहरी जवान सुमन आचार्यको बाढीको पानीको गहिराइ जाँच्ने क्रममा मृत्यु भएको थियो भने लौनियाँमा खोलाले बगाएर ल्याएको एक पुरुषको शव फेला परेको थियो ।
रासस