धरान / आज देशभरनै आफ्ना गुरुजनप्रति सम्मान प्रकट गरी भव्य रुपमा गुरु पूर्णिमा पर्व मनाइदैछ । पूर्णिमा व्रत शनिबार परेपनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर्न गुरुपूर्णिमाका अवसरमा विभन्न विद्यालय एवम् सङ्घसंस्थाले श्रदभाव कार्यक्रम गर्ने गर्छन ।
‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भवः’ भनिन्छ ।
त्यस्तै, आजको दीननै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेदव्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।