इटहरी / नेकपा एमालेको निकै राम्रो आधार इलाकाको रुपमा मानिएको इटहरीको पछिल्लो मत परिणामलाई लिएर नेकपा एमाले झस्किएको छ ।

विगत दुई दशक यताको कुनै पनि चुनाव नहारेको, अझ अघिल्लो संविधानसभाको चुनावमा ७ हजार मतले जितेको एमालेले ११ वटा वडा गुमायो । १०२ सिटमध्ये ५७ सिट जितेका साथ मेयर र उपमेयर जितेपनि एमालेले यसलाई आन्तरिक समस्याका कारण भएको हार भनेको छ । एमाले मात्र होइन, आफ्नो भोट बैंक किनिएको राप्रपा र माओवादी केन्द्रका नेताले बताईरहँदा नेपाली काँग्रेसले राम्रो नतिजा ल्याएको छ ।चुनावी नतिजालाई लिएर नेपाली काँग्रेस भने सन्तुष्ट देखिन्छ ।

एमालेको गुनासो, ‘अन्तर्घात भयो’ एमालेको पराजयलाई लिएर एमाले नेताहरु यो पटक अरु कसैलाई दोष दिने मुडमा छैनन् । सबैलाई थाहा छ, ‘आफैभित्रबाट घात भयो’ । एमालेका स्थानिय नेता, कार्यकर्ताले त फेसबुकबाटै पनि लेखिरहेका छन् । चुनाव प्रचार प्रसारको क्रममा पार्टीका जिल्ला र नगरस्तरकै नेताहरु उम्मेदवार हराउ अभियानमा छुट्टा छुट्टै समुह बनाएर लागेका थिए ।

एमालेका इटहरी नगर अध्यक्ष रेवती घिमिरे पार्टीभित्रको आन्तरिक समस्या र अन्तर्विरोधका कारण धेरै वडा गुमाउनु परेको बताउछन् । ‘हामी फेल भयौं, पार्टीभित्रको अन्तविर्रोध हटाउन नसकेको नतिजा हो यो,’ उनले भने, ‘मनको कुण्ठा मतदानमा देखियो ।’

एमालेलाई दिइएको मत अधिकांश ठाउँमा कहिँ वडाध्यक्ष, काहिँ मेयर, काहिँ उपमेयरलाई क्रस गरिएको बताउँदै घिमिरेले जनताले धेरै सोचविचार गरेर मत दिएको बताए । एमालेको हारको कारण उनी उम्मेदवार छनोटमा गम्भीर नहुनुलाई पनि मान्छन् । ‘उम्मेदवार छनोट गर्ने कुरामा नेताहरुमा गम्भीरता देखिएन, आसेपासेहरुलाई टिकट दिइयो,’ उनले भने, ‘स्थानिय तहको सरकार सञ्चालन गर्नेहरु मन्त्री जस्तै हुन्छन्, त्यो क्षमता उम्मेदवारमा छ कि छैन, मतदाताले विचार गरेका छन् ।’

एमालेभित्र यो पटक उम्मेदवार छनोट गर्दा पैसाको लेनदेन समेत भएको आरोप लागेको छ । जितिहालिन्छ भन्ने दम्भका कारण पनि एमालेले उम्मेदवार छनोटमा लापरवाही गरेको देखिएको छ । वडा नं. १ मा त एक जनालाई टिकट दिने भनेर अन्तीम सातामा अर्कैलाई उठाइयो । यस्तै घटनाले उब्जाएको असन्तुष्टी भोटमार्फत् पोखिएको विश्लेषण गरिएको छ ।

इटहरीमा एमाले उम्मेदवारलाई जिताउन हप्तौअघिदेखि खटिइरहेकी पार्टीको युवा तथा खेलकुद विभागकी केन्द्रिय सदस्य मीना श्रेष्ठले संगठन भित्रको अन्तर्घातले एमालेलाई ठूलो क्षती पुगेको बताइन् । ‘केपी ओलीले कायम गरेको पार्टीको उचाइलाई यहाँका केही नेताले धुलोमा मिसाएका छन्,’ घरदैलोमा निस्केकाहरुले नै एमालेलाई भोट नदिएको उनको भनाई छ, ‘अन्तर्घातको छानविन गरेर पार्टी हराउन लागिपर्नेलाई कारवाही गर्नुपर्छ, संगठनको आकार सानो हुन्छ भने होस्, तर प्रतिबद्ध सदस्यहरु मात्र राख्नुपर्छ ।’