विराटनगर/ चार पार्टीका दुई अलग–अलग गठबन्धनलाई पराजित गर्दै विराटनगर महानरपालिकाको मेयर जितेर भीम पराजुलीले स्थानीय तहमा एमालेसँग पराजय भोगिरहेको कांग्रेसको घाउमा थोरै भनेपनि मल्हम लगाइदिए ।
नेकपा एमाले र फोरम लोकतान्त्रिक एवम् संघीय समाजवादी फोरम र माओवादी केन्द्रलाई पछि पार्दै चुनावी मैदानमा उत्रिएका पराजुलीको लागि अब विराटनगरको विकास मुख्य चुनौति हो । कांग्रेसको उर्बरभूमी मानिने विराटनगरमा पराजुलीको जित धेरै अर्थमा महत्वपूर्ण छ ।
कांग्रेसका नगर सभापति रहेका पराजुली हकी र निडर नेताको रुपमा चिनिन्छन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका ४४ वर्षीय पराजुली विराटनगर–३ पोखरिया निवासी हुन् । निम्नमध्यम वर्गीय परिवारमा जन्मिएका पराजुली महेन्द्र मोरङ क्याम्पसको स्ववियुको नेतृत्व लिँदै कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् ।
विराटनगर महानगरपालिकाको मेयरमा निर्वा्चित भएसँगै पराजुलीले एक सय दिन भित्र बिराटनगरवासीले प्रत्यक्ष रुपमा अनुभव हुने गरी विकासको कामलाई बाँडफाँट गरी योजना बनाएको बताएका छन् । नवनिर्वा्चित मेयर पराजुलीले सबैभन्दा पहिला बिराटनगरमा बिकराल बनेको सडक संरचनालाई चाँडो भन्दा चाँडो व्यवस्थित गर्ने आफ्नो योजना सुनाए ।
उनले भने, ‘एक सय दिन भित्रै नगरवासीले विराटनगरको अस्तव्यस्त सडकको कारण जुन समस्या व्यहोर्न वाध्य हुनु भएको छ त्यो अवस्थाबाट आंशिक रुपमा भएपनि नगरवासीलाई राहत महसुस हुने गरी काम गर्ने मेरो पहिलो योजना हुनेछ ।’
पराजुलीले पाँच वर्षको काफ्नो कार्यकालमा विराटनगरको समग्र विकासका लागि सामान्य खालका र बहुवर्षिय योजना बनाएर व्यवस्थितरुपमा काम गर्ने योजना रहेको बताए । उनले नगरभित्र रहेका अल्पसंख्यक जाति गरीवीका रेखा मुनि रहेका नागरिकलाई सहकारीको माध्यमवाट सहुलियत ऋण प्रदान गर्ने योजना पनि उनले सुनाए ।
मेयर पराजुलीले चुनावी एजेण्डामा प्रतिवद्धता गरेअनुरुप बिराटनगर महानगरपालिकालाई प्रदेश नम्बर १ को प्रादेशिक राजधानी बनाएर आर्थिक र औद्योगिक केन्द्रका रुपमा विकास अघि बढाउन ध्यान केन्द्रित गर्ने पनि उनले बताए ।
स्थानीय तहको दोश्रो चरणको चुनावी एजेण्डामा प्रादेशिक राजधानीपछि कांग्रेसले ‘हाम्रो र राम्रो बिराटनगर’ निर्माणकालागि धुँवाधूलो र हिलोमुक्त सहर बनाउने उल्लेख गरेको थियो ।