पथरी/ मोरङ भाउन्नेका १० वर्षका दिवस पुरीलाई पनि शनिबार कहिले आउलाजस्तो लाग्छ । शनिबार उनी आमासँग निगुरो खोज्न जान्छन् र ४ वटा शनिबार जम्मा गरेको पैसाले बोर्डिङको शुल्क तिर्नुपर्छ ।
पुरी मात्रै हैन उमेरले डाँडो काटेकाहरु पनि निगुरो टिपेर खाद्यान्न जोहो गर्दै आएका छन् । ६८ वर्षीया फुलमाया धिमाल विगत ४ दशकदेखि निगुरोबाट नै जीवन धानिरहेका छन् । महेन्द्र राजमार्गको मोरङ खण्डमा पर्ने कानेपोखरीदेखि बेतना सिमसार आसपासको जङ्गलमा पाइने जङ्गली साग निगुरोले उनीहरुको दैनिक घरखर्च र ९ महिनाका लागि खाद्यान्नको जोहो निगुरोकै कारणले हुने भएकाले १० वर्षीय पुरी एकाबिहानै निगुरो खेज्न जङ्गलतिर लाग्छन् ।
पहिले पहिले निगुरो खोजेर गाउँगाउँमा डुलेर बेच्नु हुन्थ्यो । तर अहिले जति निगुरो टिपे पनि ठेकेदारले किनेर लान्छन्, उत्साही हुँदै जीउ, अनुहार चाउरी परिसकेकी फुलमायाले भने ।
त्यस्तै, मोरङ भाउन्नेका ७० वर्षीय मङ्गलसिंह तामाङ र उनकी जीवन सङ्गीनी सोममायाको दिनचर्या अचेल निगुरो टिप्नमा नै बित्ने गरेको छ । महेन्द्र राजमार्गको भाउन्ने–लक्ष्मीमार्ग सडकखण्डमा सङ्कलन भएको निगुरो विराटनगर, धरान र विर्तामोडसम्म पुग्ने गरेको छ । ठेकदार कुमार राना भन्छन्, “मागअनुसार आपूर्ति गर्न सकेका छैनौँ । अघिल्ला वर्ष काठमाडौँ, पोखरासमेत जाने निगुरो हाल कम सङ्कलन भएकै कारण उता पठाउन सकेका छैनौँ ।”
यहाँ सङ्कलन भएको यतै खपत हुने रानाको भनाइ छ । महेन्द्र राजमार्गको मोरङ खण्डमा पर्ने कानेपोखरीदेखि बेतना सिमसार आसपासको जङ्गलमा पाइने जङ्गली साग निगुरोले झण्डै ४५० परिवारको दैनिक घरखर्च मात्र चलेको छैन, ८–९ महिनाका लागि खाद्यान्नको जोहो पनि निगुरोको कै आम्दानीले गरिदिएको छ ।
सो क्षेत्रबाट दैनिक ८० हजारको निगुरोको व्यापार हुने गरेको थोक बिक्रेता बताउँछन् । सामान्यतया महिला र पाकाले दैनिक १०० मुट्ठा र बालबालिकाले ५० मुट्ठा निगुरो खोज्छन् र ठेकेदारलाई रु १०–१५ का दरले बिक्री गर्छन् । त्यही निगुरो ठेकेदारले मुट्ठा फुटाएर चार मुट्ठालाई पाँच मुट्ठा बनाउँछन् अनि प्रतिमुट्ठा २० का दरले बेच्छन् ।
श्रीमानले कान्छी ल्याएपछि जीवनबाट निराश भएकी डाँगीहाट–४ मोरङकी ४८ वर्षीय पद्मामाया गुरुङ निगुरोको सहारामा जीवन धानिरहेका छन् । पद्मामाया भन्छिन्, “दैनिक ५०–६० मुट्ठा निगुरो खोज्छु । १० देखि २० रुपैयाँ मुट्ठाले बिक्री हुन्छ । दालभातका लागि भौँतारिएर हिँड्नु परेको छैन ।” १४ वर्षीय छोरा देवराज गुरुङले आमा पद्मामायालाई भरपुर सहयोग गरेकाे छ ।