चितवन । ‘स्क्रब टाइफस’बाट चितवनमा थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासी घर भई चितवनको भरतपुर स्थित सेन्ट्रल अस्पतालमा उपचारका क्रममा रहेकी २१ वर्षीया महिलाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
भदौ ९ गते उपचारका लागि अस्पताल ल्याइएकी उनको मृत्यु भएको किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए । यसअघि नवलपरासी रजहरकी २४ वर्षीय एक महिलाको साउन २२ गते उपचारकै क्रममा नारायणी सामुदायिक अस्पतालमा मृत्यु भएको थियो ।
चालु आर्थिक वर्षमा जिल्लामा ४सय ९७ जनाको परीक्षणमा १सय ३३ जनामा स्क्रब टाइफस रोग पाइएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । भरतपुर अस्पतालमा ४०, बकुलहर रत्ननगर अस्पतालमा ४, चितवन मेडिकल कलेजमा ३१, नारायणी सामुदायिक अस्पतालमा ४२, मनकामना अस्पतालमा २, सेन्ट्रल अस्पतालमा १ तथा निजी ल्याबहरूमा १३ जनामा टाइफस देखिएको कार्यालयले जनाएको छ । चिकित्सकहरूका अनुसार ‘माइट’ नामको सुक्ष्म किराले टोकेमा स्क्रब टाइफस सर्छ ।
यो रोग मुसाको कानमा बस्छ । यो रोग लागेमा अत्याधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने र शरीर पनि दुख्ने हुन्छ । यसरी ज्वरो आउनेबित्तिकै चिकित्सकको निगरानीमा औषधि लिन चिकित्सकले आग्रह गरेका छन् ।