काठमाडौं । वर्तमान सरकार आफैले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आरोप लगाएको छ । शनिवार अपरान्ह पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी स्थायी समिति बैठकले सरकार र सत्तारुढ दलहरुले निर्वाचन आचारसंहितको चरम उल्लंघन गरेको निष्कर्ष निकाल्दै आरोप लगाएको हो । बैठकले कारवाहीका लागि निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण गराउने निर्णय छ । प्रधानमन्त्री र मन्त्रीहरु स्वयंले नै निर्वाचन आचारसंहिता उल्लंघन गरेकाले कारबाही गर्न निर्वाचन आयोगसँग माग गर्ने निर्णय गरिएको पार्टीका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । एमालेले सबै राजनीतिक दलहरुलाई निर्वाचन प्रचार अभियानमा निर्भयताका साथ सहभागी हुने वातावरण बनाउन पनि सरकारसँग माग गरेको छ । शान्ति, सुरक्षा सुदृढ बनाई सबै राजनीतिक दलहरुलाई निर्वाचन प्रचार प्रसार अभियानमा जुटने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराइएको सचिव भट्टराईले बताए । एमालेले दुई दिनभित्र स्थानीय तह तेस्रो चरणको निर्वाचनमा लागि सबै उम्मेदवारको टुंगो लगाउने निर्णय पनि गरेको छ । उसले स्थानीय आवश्यकता अनुसार प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने नीति पनि तय गरेको छ ।