काठमाण्डौं । गुणस्तर तथा नापतौल विभागको ट्याक्सी–टेम्पो एकाईका निरीक्षकसहित तीन कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो । आयोगले बिहीबार बिहान भक्तपुरबाट उनीहरुलाई पाँच लाख घुससहित रंगे हात समातेको हो । निरीक्षक विकास धोजू सोही एकाईका सहायक निरीक्षकद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई ट्याक्सी मिटर पास गर्ने नाममा घुस लिइरहेको अवस्थामा भक्तपुरको सल्लाघारीबाट नियन्त्रणमा लिएको अख्तियार स्रोतले जानकारी दिएको छ । उनीहरूले ४ सय ५० ट्याक्सी मिटर पास गर्न ५ लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । मिटर पास गर्न विभाग कर्मचारीले ६ लाख ७५ हजार रुपैयाँ माग गरेका थिए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । यसमा विभागका अन्य पदाधिकारी पनि संलग्न भएको हुनसक्ने आशंका अख्तियारले गरेको छ ।