काठमाण्डौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्न सञ्चारकर्मीहरुलाई ध्यानाकर्षण गराएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सञ्चारकर्मीहरुलाई निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह गरेका हुन् । बुधबार काठमाडौंमा आयोजित ‘आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन र सञ्चार मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले निर्वाचन आचारसंहिता पालना गर्ने र गराउने काममा सञ्चारकर्मीहरुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । निर्वाचन आयुक्त दाहालले प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई सहज बनाउन सञ्चारकर्मीहरुले उल्लेख्य सहयोग गर्ने बताए । उनले निर्वाचनका बेला समाचार बनाउँदा जनमत बिग्रन नदिन सञ्चारकर्मीहरु संवेदनशील हुनुपर्ने स्मरण गराए । आयुक्त दाहालले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सरोकारवाला सबै निकायको सक्रिय सहयोगको आवश्यकतामा जोड दिए ।