विराटनगर / दशैं अवधिमा एक नम्बर प्रदेशमा सवारी दुर्घटनमा परी १६ जनाको मृत्यु भएको छ । दशंैको घटस्थापनाको दिनदेखी मंगलबारसम्म एक नम्बर प्रदेशमा ४६ वटा दुर्घटनामा परी १६ जनाको मृत्यु भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । एक नम्बर प्रदेश ट्राफिक प्रमुख एसपी राजकुमार लम्सालले दिएको जानकारी अनुसार ४६ वटा दुर्घटनामा ६० जना घाइते र १६ जनाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेको बताए । जसमा मोटरसाइकल ४१ वटा, ट्रक र टिप्पर ४ वट, कारजिप ११, टेक्टरर १, टेम्पो ५ गरी ७२ वटा सवारी साधन दुर्घटनामा परेका थिए ।

‘दुर्घटन परी मृत्यु हुने सबैभन्दा बढी मोटरसाइकलबाट भएको छ,’ एसपी लम्सालले भने, ‘मोटसाइकल चालकको ओभर स्पीड र अनयन्त्रित हुँदा दुर्घटना बढी भएको पाइएको छ ।’ उनले भने, ‘दशैंमा मधिरा सेवन गरेर सवारी चलाउँदा पनि दर्घटनमा परी मृत्यु भएको छ ।’ उनका अनुसार एक जना मधिरा सेवन गरि सवारी चलाउँदा घटना स्थलमै मृत्यु भएको छ ।

दशैमा सबैभन्दा बढी मोरङमा सवारी दुर्घटनामा परी मृत्यु भएको एक नम्बर प्रदेश ट्राफिकको अभिलेखमा देखिन्छ । मोरङमा १७ वटा सवारी साधन दुर्घटना भएकोमा ४ को मृत्यु, ३ जना गम्भिर घाइते र १२ जना सामान्य घाईते भएको छ ।

मोरङमा सवारी दुर्घटनमा परी ज्यान गुमाउनेहरुमा रतुवामाई नगरपालिका – ९ इटहराका ३८ वर्षिय तीर्थप्रसाद सिग्देल, सोही ठाउँका ३९ वर्षिय मयेन कुमार आचार्य, उर्लाबारी – २ का १८ वर्षिय ज्ञालसन तामाङ र उदयपुरको त्रियुगा नगरपालिका ३ का ३९ वर्षिय अशोककुमार राईको मृत्यु भएको मोरङ ट्राफिकले जनाएको छ । एक नम्बर प्रदेशमा ८ हजार ७ सय ७२ वटा सवारी साधन कारबाहीमा परी ४८ लाख ६६ हजार रुपैयाँ रजस्व संकलन भएको छ ।