काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीबीच चुनावी गठबन्धन र एकता प्रक्रिया सुरु भएपछि धेरैको निद्रा हराएको बताएका छन् । शुक्रबार नेपाल प्रहरीका डीआईजी नवराज सिलवाललाई पार्टी प्रवेश गराउँदै एमाले अध्यक्ष ओलीले कम्युनिष्ट पार्टी मिलेको देखेर धेरै जना आत्तिएको बताए । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी फेरि एक ठाउँमा आउनु कुनै नौलो कुरा नभएको भन्दै उनले यो एकता सत्ताको लागि नभएको दावी गरे । एमालेको बहुमत ल्याउन गरिएको तालमेल नभइ देश बनाउन र सही र सहज ढंगले अगाडि बढाउन गरिएको उनले उल्लेख गरे । कम्युनिष्ट पार्टीहरु मिलेको देखेर कतिपयले कम्युनिष्ट अधिनायकवादतिर आउने भयो भन्ने गलत हल्ला फिजाएको भन्दै ओलीले यो तालमेल मुलुकको हितका लागि गरिएको दावी गरे। यो चुनावी तालमेलसंगै बाम एकताको लागि पहल सुरु गरेको धारणा राखे । नेपाली कांग्रेस पुरानो रुख भएको भन्दै त्यसमा मलजल गरेर काम नहुने बताए । ’धोद्रो रुखमा युरिया हालेर काम लाग्दैन । के मा पानी हाल्ने के मा मल हाल्ने भन्ने सही रुपमा ठम्याएर तपाई एमालेमा आउनुभएको छ । तपाईहरुले गरेको मलजल खेर जाँदैन’ उनले डीआईजी सिलवालसहित पार्टी प्रवेश गर्नेहरुलाई भने । सत्ताको उन्मादले डीआईजीलाई समेत धुरुधुरु रुवाएको भन्दै डीआईजीले पनि दुख पाउँछन् भने सर्वसाधारणको हालत के होला भन्ने विचार अघि सारेका थिए ।