ताप्लेजुङ । राष्ट्रपति बिद्यादेवी भण्डारी शुत्रबार ताप्लेजुङ आउने भएकी छिन् । जननेता स्वर्गीय मदन भण्डारी पत्नी राष्ट्रपतिका लागि राष्ट्रपति सम्हाले यताको यो पहिलो गृह जिल्लाको भ्रमण हो ।

राष्ट्रपति भण्डारी मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुस्थित स्वर्गीय पति मदनको जन्मघर अवलोकनका लागि ताप्लेजुङ आउन लागेकी हुन् । गृह जिल्ला भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले पाथीभरा देवीको दर्शन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ । भ्रमण सूचीअनुसार भण्डारी काठमाडौंबाट सीधै पाथीभरा दर्शनका लागि मन्दिरतर्फ प्रस्थान गर्ने छिन् ।

मन्दिरको दर्शन पछि भण्डारी ताप्लेजुङस्थित नेपाली सेनाको नयाँ रणभीम गुल्मको ब्यारेक तोक्मेडाँडामा आउने र त्यहाँ उनलाई सरकारी निकायका प्रमुखहरुले स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनी ढुङ्गेसाँघुतर्फ जाने र ढुङ्गेसाँघुमा स्वर्गीय पति मदनको जन्म घरको अवलोकन गरेपश्चात एक औपचारिक कार्यक्रममा सहभागी बन्ने छिन् ।

यता राष्ट्रपतिको स्वागतका लागि पाथीभरा क्षेत्र विकास समिति र पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका पदाधिकारीहरु बिहीबार बेलकै पाथीभरा मन्दिर पुगी सकेका छन् । मन्दिर परिसरमा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्प बडुवाल र संरक्षण तथा सम्वद्र्धन समितिका कार्यबाहक अध्यक्ष रणबहादुर कार्की सहितको टोलीले राष्ट्रपति भण्डारीलाई स्वागत गर्ने कार्यक्रम रहको छ ।

उता राष्ट्रपति भण्डारीको मन्दिर दर्शनको कार्यक्रमका लागि मन्दिरक्षेत्र वरपर सुरक्षा साथै ढुङ्गेसाँघु लगायतका स्थलमा राष्ट्रपतिको भ्रमणलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।