भक्तपुर । मध्यपुर थिमी नगरपालिकाको सोमबार बसेको नगर कार्यपालिका बैठकमा झडप भएको छ। नगरपालिकाले हालै कर्मचारीहरुलाई नयाँ पद सिर्जना गरी वडा वडामा खटाएको र नगरपालिकाले सञ्चालन गरेको एम्बुलेन्स नेपाल कोरिया मैत्री अस्पताललाई हस्तान्तरण गरेको विषयमा भएको विवादपछि झडप हुँदा चार वटा कुर्सी समेत भाँचिएको स्रोतले जनाएको छ। असोज २९ गते नगरपालिकाको निर्णय भन्दै हालै विभिन्न महाशाखा स्थापना गरी कर्मचारीहरुलाई जिम्मेवारी दिनुका साथै अधिकृत स्तरका कर्मचारीहरुलाई प्रशासकीय अधिकृतको रुपमा आर्थिक अधिकारसहित वडा वडामा खटाएको थियो। त्यसैगरी एम्बुलेन्स सञ्चालन गर्दा नगरपालिकालाई घाटा भएको भन्दै एम्बुलेन्स नेपाल कोरिया मैत्री अस्पताललाई हस्तान्तरण गरेको थियो। नगरपालिकाले कर्मचारीहरुलाई थप जिम्मेवारीका साथ वडामा खटाएको सम्बन्धमा वडा अध्यक्षहरुले असन्तुष्टि व्यक्त गर्दै नगरपालिकामा पत्र पठाएर असोज २९ गतेको बैठकको निर्णयको प्रतिलिपी समेत माग गरेका थिए। नगर कार्यपालिकाको बैठकै नबसी नगरप्रमुख मदनसुन्दर श्रेष्ठ र कार्यकारी अधिकृत कमल ज्ञवालीको मिलेमतोमा नयाँ पद सिर्जना गरी कर्मचारीहरुलाई वडामा खटाएर वडा अध्यक्षहरुको अधिकार कटौती गरेको भन्दै बैठक शुरु हुनासाथ वडा अध्यक्षहरुले विरोध गरेका थिए। त्यसैगरी वडा अध्यक्षहरुले नगरपालिकाले नाफाको लागि नभई सेवाका लागि एम्बुलेन्स सञ्चालन गर्नुपर्ने भन्दै नेपाल कोरिया मैत्री अस्पताललाई हस्तान्तरण गरेको एम्बुलेन्स फिर्ता गर्नुपर्ने माग राखेपछि बैठकमा विवाद शुरु भएको मध्यपुर थिमी ३ नं. वडाका वडा अध्यक्ष प्रेम कुटुले जानकारी दिए। बैठकमा बहुमत सदस्यहरुले नगरप्रमुख श्रेष्ठ स्वेच्छाचारी ढंगले चलेको भन्दै विरोध गरेपछि श्रेष्ठले कर्मचारी सरुवा जस्तो विषयमा कार्यपालिकाको निर्णय आवश्यक नभएको भन्दै प्रतिवाद गरेपछि झडपको स्थिति आएको अध्यक्ष कुटुले जानकारी दिए। नगरपालिकाका सूचना अधिकारी केशव सिलवालले बैठकको एजेण्डामा प्रवेश भएका ३ वटा विषयमा चित्त नबुझेका कारण बैठक स्थगित भएको जानकारी दिए। उनले झडप भएको विषय गलत भएको बताए। बैठकमा नगरपालिकाका कार्यक्रमहरुको समीक्षा, कर्मचारी सरुवा बढुवा र नपाको मापदण्डका विषयमा चित्त नबुझेपछि सामान्य छलफल मात्र भएको जानकारी दिए। बैठकमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडाअध्यक्षहरु प्रेम कुटु, राम थापा, ईन्द्रबहादुर प्रजापति, रामकाजी चक्रधर र नगर कार्यपालिका सदस्यहरुले प्रमुखको स्वेच्छाचारी निर्णय विरोध गरेको कुटुले जानकारी दिए। यस सम्बन्धमा नगरप्रमुखलाई पटक पटक सम्पर्क गर्दा उनले मोबाइल उठाएनन्।