काठमाडौं । आजका पत्रिकाहरुले उम्मेदवार लक्षित आक्रमणका घटनाहरुलाई समेट्दै चुनावी असुरक्षा बढेको समाचार लेखेका छन् । नयाँ पत्रिका दैनिकले निर्वाचनको वातावरण बिथोल्न सक्रिय समूहलाई सीधै गोली हान्न गृहमन्त्रालयले आदेश दिएको समाचार लेखेको छ । समाचारमा लेखिएको छ, ‘बम विष्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विष्फोट गराउँदै गरेको वा विष्फोटक पदार्थ बोकेर हिँडेको पाइए सीधै गोली हान्ने समेत आदेश दिइएको छ ।’ तर, गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा भने गोली हान्ने आदेश दिएको उल्लेख छैन ।