काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को लाजिम्पाटस्थित निवासमा पहिलो पटक ताला लागेको छ। छोरा प्रकाशको निधनपछि शोकाकूल श्रीमति पत्नी सीतासहित प्रचण्ड चितवन र दुबै बुहारीहरु आ–आफ्नो जिल्लातर्फ लागेपछि घरमा ताला लागेको हो।
शनिबार दिउँसोमात्र प्रकाशपत्नी बीना कञ्चनपुरतर्फ लागेपछि प्रचण्ड निवासमा ताला लागेको छ। अध्यक्ष प्रचण्ड पत्नी सीता र परिवारका अन्य सदस्य सहित शुक्रबार नै चितवनतर्फ लागेका थिए। उनका साथमा छोरी रेणु र गंगासहित परिवारका अन्य सदस्य पनि थिए। यसैगरी प्रकाशका जेठी श्रीमतितर्फका छोरा प्रसिद्धपनि उनीसँगै चितवन गए। बुहारी सिर्जना चाहिँ पोखरातर्फ लागिन्। सबैजना लाखापाखा लागेपछि झण्डै रित्तिन पुगेको लाजिम्पाट निवासमा प्रकाशपत्नी बीना मगर छोरा प्रणब र सहयोगी रीताका साथमा रहेकी थिइन्। तर कञ्चनपुर–१ मा वामगठबन्धनको तर्फबाट उम्मेदवार रहेकी बीना पनि शनिबार २ बजे काठमाडौं–धनगढीको उडानबाट कञ्चनपुरतर्फ लागिन्। शनिबार धनगढी उड्ने तयारीमा काठमाडौं विमानस्थलमा बीना परिवारका अन्य सदस्यहरु सबै शुक्रबार बाहिरिने भएपछि बीनाको पनि शुक्रबार नै कञ्चनपुरतर्फ जाने कार्यक्रम थियो। तर स्वास्थ्यमा समस्या देखिएपछि उनी रोकिएकी थिइन्। स्वास्थ्यमा आएको खराबीका कारण बिहिबार लाजिम्पाट निवासमा आयोजित श्रद्धाञ्जली कार्यक्रमका बेला पनि उनी उपचारका लागि अस्पताल गएकी थिइन्। यसरी परिवारका सबै सदस्य बाहिरिएपछि प्रचण्ड निवासमा ताला लागेको छ। झण्डै ७ वर्षदेखि बस्दै आएको निवासमा यसरी ताला लागेको यो पहिलो पटक हो। यसअघि प्रचण्ड काठमाडौंमा नभएपनि परिवारका कुनै न कुनै सदस्य निवासमा रहने गरेका थिए, जसले गर्दा अहिले जसरी ताला लगाउनु परेको थिएन। परिवारमा यदि यो दुखद घटना नभएको भए यसरी ताला लगाउनु पर्ने स्थिति आउने थिएन। परिवारका कोही न कोही सदस्य निवासमा रहने थिए। चुनावी चटारोका कारण प्रचण्ड आफू त सम्हालिनै पर्ने स्थितिमा छन्, पुत्रशोकका कारण सीता दाहाल अझै सम्हालिन सकेकी छैनन्। त्यही कारण उनलाई पनि चितवन नै लगिएको छ। यही कारण लाजिम्पाट निवासमा ताला लगाउनु पर्ने स्थिति सिर्जना भएको हो। ‘त्यो दुखद घटना नभएको भए चितवन वा बाहिर कतै जानुपर्ने स्थितिमा पनि कोही न कोही निवासमा हुन्थे’ प्रचण्डका एकजना नातेदारले भने, ‘तर कोही नरहने भएपछि निवासमा ताला लागेको छ। त्यहाँ अहिले सुरक्षाकर्मीहरुमात्र छन्।’