काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’लाई उनको निवास ललितपुरस्थित खुमलटारमा भेटघाट गर्न नपाइने भएको छ । प्रचण्डसँग हुने अब सबै भेट र राजनीतिक गतिविधि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मात्रै हुने भएको हो । उनको भेटघाट तथा कार्यक्रमको तालिका समेत अब केन्द्रीय कार्यालयले नै तय गर्ने भएको छ । प्रचण्डको सचिवालयका अनुसार उनलाई भेट्न दिनहुँ सयौंको संख्यामा नेता, कार्यकर्ता र सर्वसाधारणको भीड लाग्न थालेपछि राजनीतिक गतिविधि तथा कार्यक्रम केन्द्रीय कार्यालयमा मात्र गर्न लागिएको हो । प्रचण्ड आफैंले बोलाएका व्यक्तिबाहेक अरुले खुमलटार निवासमा भेट्न नपाउने उनको सचिवालयले जनाएको छ ।