काठमाडौँ/ नेपाली सीमा र अस्मितामाथि भारतीय पक्षबाट गम्भीर चोट पुर्याउने घटना भइरहेकोप्रति नेपाल तरुण दलले ध्यानाकर्षण भएको जनाएको छ । दलका महामन्त्री भूपेन्द्रजंग शाहीले आज जारी गर्नुभएको विज्ञप्तिमा उक्त कदमलाई तत्काल रोक्न माग गरिएको छ । “नेपाली सीमा अतिक्रमण भएको घटनाले हामीलाई दुःखी र आक्रोशित बनाएको छ, पर्सा, रौतहट, कञ्चनपुरलगायत जिल्लाको नेपाली भूमि मिचेर जंगे पिलर सारिएको घटनाप्रति हामी गम्भीर आपत्ति प्रकट गर्दछाैँ”– विज्ञप्तिमा भनिएको छ । घटनाको सत्यतथ्य पत्ता लगाई बारम्बार हुने सीमा अतिक्रमणको दीर्घकालीन समाधानको लागि उचित पहलकदमी लिन दलले सरकारसँग जोडदार माग गरेको छ । अतिक्रमण बन्द नभए भूमि रक्षाको लागि जुनसुकै कदम चाल्न दल बाध्य हुने भनी सम्बन्धित पक्षलाई सचेत गराइएको छ ।