मोरङ । मोरङको पथरी-शनिश्चरे नगरपालिका-१ बाट प्रहरीले आइतबार लागूऔषधसहित ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दमक नगरपालिका- ८ बस्ने २२ बर्षिय मिलन मगर, दमक १० बस्ने १८ बर्षिय शैलुन भुजेल, लेटाङ नगरपालिका- ४ गंगा चोक बस्ने १९ बर्षिय संदेश भुजेल र सोही ठाउँका १९ बर्षिय जय लिम्बु रहेका छन्।
उनीहरुलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा बेलुका ८ बजेतिर पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट लागूऔषध नाईट्रोभेट-१० चक्की,नाईट्रोसन-१ चक्की र बा ७० प ८७८ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखी थप अनुसन्धान भइरहेको छ।