काठमाडौं/ द्वन्द्वकालमा मारिएका आफ्नो छोराका हत्यारालाई कारबाहीको माग राख्दै अनशनमा बस्दै आएकी गंगामाया अधिकारीले मंगलबारदेखि ‘निर्जल अनशन’ सुरु गरेकी छन् । छोराको हत्यासम्बन्धी मुद्दाको सुनुवाइ विभिन्न बहाना बनाएर १९ पटकसम्म सारेपछि गंगामाया यस्तो अनशनमा बस्न बाध्य भएकी हुन् ।
गोरखा, फुजेलका नन्दप्रसाद अधिकारी र गंगामाया अधिकारीका कान्छा छोरा कृष्णप्रसादलाई माओवादी कार्यकर्ताले २०६१ जेठ २४ गते चितवनमा हत्या गरेका थिए । निर्दोष छोराको हत्या भएपछि अधिकारी दम्पतीले हत्यारालाई कारबाहीको माग गर्दै संघर्ष सुरु गरेका थिए ।
घरवास सबै छाडेर फगत न्यायका लागि लड्दा–लड्दै २०७१ साल असोज ६ गते अनशनकैक्रममा नन्दप्रसादले देहत्याग गरे । पुत्रवियोग सहँदै आएकी गंगामायामाथि पतिवियोग पनि थपियो । तर, उनले संघर्षलाई निरन्तरता दिँदै आएकी छन् ।
दिवंगत छोराको तस्वीर अस्पतालको भित्ता झुन्ड्याएर अनशन जारी राख्दै आएकी गंगामायाले अदालतबाट न्याय पाउने आशा मर्दै गएपछि पछिल्लो निर्णय लिएकी हुन् ।
अपराधीको नामै तोकेर उजुरी दिँदा पनि राज्यले हत्याराहरुलाई कारबाही नगरेको गंगामायाको गुनासो छ । उनले नेपालको अदालतले न्याय दिन नसक्ने भए आफू अन्तर्राष्ट्रिय अदालतमा जान परेपनि तयार हुने बताइन् ।
मानवअधिकारकर्मी चरण प्रसाइँले अब बन्ने सरकारमा माओवादी पनि रहने भएकाले यस मुद्दा अघि नबढ्ने हो कि भन्नेमा शंका व्यक्त गरेका छन् ।
यो मुद्दा अन्तर्राष्ट्रिय चासोको विषय पनि भएको भन्दै उनले राज्य न्याय दिन असफल भयो भने मुद्दा स्वतः अन्तर्राष्ट्रियकरण हुने बताए ।
यता, गंगामायाको उपचारमा खटिएका डा। विकास सहानीले गंगामायामा खुट्टाको नसाको समस्या रहेको र नियमित औषधि सेवन गरिरहेको जानकारी दिए । औषधि सेवन छुटेमा मुटुमा पनि असर गर्ने उनको भनाइ छ ।
एकातर्फ नन्दप्रसाद अधिकारीको शव झन्डै साढे ३ वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा बरफभित्र राखिएको छ भने अर्कोतर्फ गंगामायाले न्यायको भीख मागिरहेको पनि वर्षौं बितिसकेको छ । तर, न्याय दिने निकायहरुलाई भने यो संघर्षको पीडाले कत्तिपनि छोएको छैन ।