हेटौँडा/ प्रदेशसभा बैठकमा सहभागी हुन आइपुगेका सांसदहरुलाई हेटौँडाका होटलहरुले ठुलो छुटको अफर गरेका छन् । १३ जिल्लाका सांसद बुधबार साँझसम्म हेटौंडा आइपुगेपछि होटलहरुले छुटको अफर ल्याएका हुन् ।
हेटौंडाका होटलमा बस्ने सांसदलाई होटल एसोसिएसन मकवानपुरले ४० प्रतिशत छुट दिएको हो। ‘माननीयहरूलाई होटलमा खान, बस्नका लागि हामीले ४० प्रतिशत छुट दिएका छौं’, होटल एसोसिएसन मकवानपुरका अध्यक्ष भागिरथ शर्माले भने, ‘माननीयहरुको हेटौंडा बसाइ सुखद बनाउन हामी लागिपरेका छौं।’
यसअघि शपथग्रहणका लागि हेटौंडा आएका सांसदलाई होटल एसोसिएसनले निःशुल्क खाने, बस्ने व्यवस्था गरेको थियो। माघ ७ गते प्रदेशसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथग्रहण भएको थियो। माघ ११ गते ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले माघ १८ गते दिउँसो १ बजेका लागि प्रथम प्रदेशसभा बैठक आह्वान गरेकी थिइन्।