काठमाडौँ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति र समृद्धिका लागि छिमेकीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताएका छन् ।

भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराजसँग बिहीबार साँझ होटल सोल्टीमा भेटमा अध्यक्ष ओलीले आपसी हितका लागि प्राकृतिक स्रोतसाधनको उपयोग, सम्पर्क विस्तार, व्यापार र सूचना प्रविधिलगायत क्षेत्रमा भारतसँग सहकार्य गर्न तयार रहेको बताए ।

भेटमा उनले भारतसँग घनिष्ठतापूर्वक काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

अध्यक्ष ओलीले नेपालको लोकतान्त्रिकीकरणमा भारतले गरेको सहयोगप्रति आभार प्रकट गर्दै अब बन्ने नयाँ सरकार शान्ति र समृद्धिका निम्ति क्रियाशील रहने बताए ।

त्यस अवसरमा भारतीय विदेशमन्त्री स्वराजले नेपालमा भएको निर्वाचनका लागि नेपाली जनतालाई र निर्वाचनमा वाम गठबन्धनले प्राप्त गरेको सफलताका लागि बधाई दिएको सचिव ज्ञवालीले जानकारी दिए ।

निर्वाचनबाट प्राप्त स्पष्ट जनादेशले नेपालमा शान्ति र स्थिरता कायम हुने बताउँदै विदेशमन्त्री स्वराजले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि निर्वाचनपछि नेपाल विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेको बताइन् ।

अध्यक्ष ओली र विदेशमन्त्री स्वराजबीच शुरुमा एक्लाएक्लै करिब ४५ मिनेट भेटवार्ता भएको थियो भने त्यसपछि दुवै पक्षका प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो ।

दुईदिने नेपाल भ्रमणका लागि आज यहाँ आएकी भारतीय विदेशमन्त्री स्वराजसँग आजै राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले पनि भेटवार्ता गरेकी छन ।

विदेशमन्त्री स्वराज भोलि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरी स्वदेश फर्कने कार्यक्रम छ ।