महोत्तरी । ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ । महाकवी लक्ष्मीप्रसाद देवकोटका यी हरफ सबैलाई कण्ठस्थै हुन्छ । त्यसो त मानिस धनले पनि ठूलो हुँदैन, उसको मन र कर्मले नै उसलाई महान बनाएको हुन्छ । धन नभए पनि कोही–कोही मन भएका हुन्छन् । त्यस्तै मन भएका व्यक्ति हुनुहुन्छ, मजदुरी गर्दै आएका महोत्तरी औरहीका इश्वर लहेडी ।

मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका महोत्तरी औरहीको ईश्वर लहेडीले बाटोमा अलपत्र अवस्थामा भेटिएकी एक बालिकाको संरक्षण गर्ने जिम्मेवारी पाउनु भएको छ । शनिवार राति बाटोमा अलपत्र अवस्थामा भेटिएकी २ महिनाकी बालिकालाई संरक्षण गर्ने जिम्मेवारी प्रहरीले औरही नगरपालिका १ का ३५ वर्षीय इश्वर लहेडीलाई दिएको हो ।

सडकमा फालिएको बच्चाको सूचना आफूले प्रहरीसमक्ष गरेकोले प्रहरीले उल्टै आफैलाई बच्चाको संरक्षण गर्ने जिम्मेवारी सुम्पिएको लहेडीले बताउनुभयो । बच्चाको पालनपोषण गर्नका लागि कुनै समस्या छैन तर आफूसँग आर्थिक अवस्था कमजोर रहेको ती बालिका ठूली भएपछि विवाह गर्ने चिन्ताले सताइरहेको लहेडीले गुनासो पोख्नुभयो ।

पत्रकारसँग कुराकानी गर्दै लहेडीले भन्नुभयो, ‘मसँग दुई श्रीमती, १ छोरी र २ छोरा भए पनि प्रहरीले गरेको अनुरोधलाई स्वीकार गर्दै मैले केही दिनको लागि मात्र ती बालिकालाई शरणमा लिएको हो ।’ अलपत्र अवस्थामा सडकको छेउमा बच्चा रोइरहेको आवाज सुनेपछि कामबाट घरतर्फ फर्किदै गएको लहेडीले प्रहरीको सहयोगमा ती बालिकालाई उद्धार गर्नुभएको थियो ।

प्रहरीले बालिकाको अभिभावकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।