झापा/ चार दिनदेखि झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा सेवा अवरुद्ध भएपछि यात्रु मारमा परेका छन्।
हवाई सेवा अवरुद्ध भएपछि यात्रुहरु आफ्नो गन्तव्यतर्फ जान सकेका छैनन्। काम विशेषले जानै पर्ने हवाइ यात्रुहरु वैकल्पिक यात्रा गर्न बाध्य बनेका छन्।
मौसम खराबीका कारण चार दिनदेखि विमान सेवा अवरुद्ध भएको चन्द्रगढी नागरिक उड्डयान कार्यालयका प्रमुख पूर्ण चुडालले बताए। ‘यस विमानस्थललाई पाँच किलोमिटर भिजिबिलिटी आवश्यक पर्छ,' उनले भने, ‘अहिले शीतलहर नहुँदा पनि आकाशमा हेज मिस्टजस्तो कुहिरो लागेको कारण २ किलोमिटर मात्र भिजिबिलिटी छ, त्यसैले विमान सेवा सञ्चालन गर्न सकेका छैनौं।’
सेवा अवरुद्ध भएपछि दैनिक एक हजार यात्रु प्रभावित बनेका छन्। काठमाडौं–भद्रपुर–काठमाडौ दैनिक ८ देखि १० वटा विमानले उडान भर्दै अाएका थिए।