इटहरी । प्रदेश नम्बर १ र ४ को प्रदेशसभा बैठक आज बस्ने भएको छ । एक नम्बर प्रदेशकोे विराटनगर र ४ नम्बर प्रदेशको पोखरामा बैठक बस्न लागेको हो ।
दुवै प्रदेशको बैठक अहिले बिहान ११ बजेबाट सुरु हुँदै छ । ७ प्रदेशमध्ये ५ वटाको पहिलो बैठक सम्पन्न भइसकेको छ । प्रदेश ३ को पहिलो बैठक माघ १८ मा भएको हो भने २, ५, ६ र ७ को आइतबार सम्पन्न भएको छ । प्रदेशसभाको पहिलो बैठक बस्ने भएपछि विराटनगर र पोखराको बैठक स्थल वरपर निकै चहल पहल देखिएको छ ।
प्रदेश १ को विराटनगरमा बस्ने बैठकको सबै तयारी पूरा भएको छ । प्रदेशको पहिलो बैठकको अध्यक्षता जेष्ठ सदस्य ओमप्रकाश सरावगीले गर्ने भएका छन्। सभामुख छनोट नहुँदासम्म जेष्ठ सदस्यले अध्यक्षता गर्ने प्रावधानअनुसार सरावगीले बैठक सञ्चालन गर्न लागेका हुन् । बैठकले सभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नेे छ । दलहरु प्रदेश १ मा सभाुमखको निर्वाचन माघ २९ मा गर्न यसअघि नै सहमत भइसकेका छन् ।
प्रदेश ४ ले पनि आज बस्ने बैठकको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रदेश ४ को अस्थायी मुकाम पोखरामा पहिलो बैठक बस्न लागेको हो ।