यस वर्षको बहुप्रतिक्षीत फिल्म ‘कृ’ भोली शुक्रबारबाट देशैभर प्रदर्शनमा आउँदेछ । युवा स्टार अनमोल केसी जोडिएका कारण पनि फिल्मको प्रतिक्षा निर्माण अगावैदेखि व्यापक रुपमा भइरहेको छ । मंगलवार साँझबाट फिल्मको मल्टिप्लेक्सहरुमा बुकिङ खुल्ला भइसकेको छ ।
यसअघिका चार फिल्ममा रोमान्टिक हिरोको रुपमा प्रस्तुत भएका अनमोललाई ‘कृ’ मा विशेषत: एक्सन अवतारमा देख्न पाइनेछ । उनी आफूले फिल्मका लागि एक्सनमा कडा मिहिनेत गरेको सुनाउँछन् । उनीसँग फिल्ममा नव-नायिका अदिती बुढाथोकीले स्क्रिन शेयर गरेकी छिन् । उनलाई अनमोलको स्टारडमले आफूलाई कुनै असर नगर्ने बताउँछिन् ।
हालैमा राजधानीमा आयोजित एक कार्यक्रममा ‘इन्स्टाग्रामकी अदिती मन पर्यो कि रियलकी ?’ भन्ने पत्रकारको प्रश्नमा अनमोलले भने, ‘आखिर अदिती त अदिती नै हो । उसको जुन पनि रुप राम्रो छ । घरवाली र बहारवाली दुवै रुप उनको राम्रो छ ।’ उनले अदितीको फिगरलाई एक शब्दमा ‘कोकाकोला’ भन्दै तारिफ गरे ।
सुरेन्द्र पौडेल निर्देशित ‘कृ’ ले बुधवार सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । अब १६ वर्ष उमेर मुनीकाले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ । खतरनाक एक्सन सिन भएका कारण फिल्मले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको हो ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्मस् हो । फिल्ममा सुवास गिरी र भूवन केसीको लगानी छ । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका सह–निर्माता श्री पराजुली हुन् ।
‘कृ’ मा अनमोल केसी, अदिती बुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।