लामो समयदेखि चर्चामा रहेको पुराना निर्देशक अशोक शर्माको नयाँ फिल्मको अन्ततः औपचारिक निर्माण घोषणा गरिएकोे छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टीमको उपस्थितिमा फिल्मको नाम र कलाकार सार्वजनिक गरियो । फिल्मको नाम ‘जय भोले’ राखिएको छ ।
खगेन्द्र लामिछानेको कथा, पटकथा र संवाद रहेको फिल्ममा खगेन्द्रसँगै सौगात मल्ल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, सलोन बस्नेत, जयनन्द लामा, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतका कलाकारहरुको प्रमुख भूमिका रहनेछ ।
कार्यक्रममा खगेन्द्र, स्वस्तिमा र सलोन उपस्थित भएपनि सौगात अनुपस्थित थिए । कार्यक्रममा बोल्दै खगेन्द्रले दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेम कथावस्तुलाई फिल्मले उठाएको बताए ।
उनले भने, ‘मैले आफ्नो तर्फबाट राम्रो कथा तयार गर्ने कोशिश गरेको छु । फिल्म ह्युमरसहितको सोसल ड्रामा हो ।’ यस्तै, नायिका स्वस्तिमाले राम्रो टिम र आफ्नो भूमिका मन परेका कारण काम गर्न लागेको बताइन् ।
फागुन १ गते शिवरात्रीको दिनबाट छायांकन सुरु हुने फिल्मको लागत १ करोड ६० लाख बताइएको छ । झापा र इलाममा छायांकन हुने ‘जय भोले’ अर्को वर्षकोे दशैंको फूलपातीमा रिलिज हुनेछ ।
एए ग्रुप अफ कम्पनिज र फिल्म वल्र्ड प्रा.लिले यो फिल्मलाई संयूक्त रुपमा निर्माण गर्न लागेको हो । किरण शर्मा, कृति शर्मा र अंकित शर्मा फिल्मको निर्मातामा रहेका छन् ।
निर्देशक अशोक शर्माले ‘जय भोले’ को कथा बलियो रहेको सुनाए । केहीदिन यता सिनेवृतमा चर्चामा रहेको नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले गाउँले भूमिका भएका कारण उक्त फिल्म अस्वीकार गरेको कुरालाई पनि पनि निर्देशक शर्माले खण्डन गरे ।
उनले भने, ‘यो फिल्म गाउँले कथावस्तुमा निर्माण हुन लागेकै होइन । साम्राज्ञीले आफ्नो व्यस्तताका कारण फिल्म गर्न नसक्नु भएको हो । अरु कारण केही पनि छैन ।’
पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य रहने फिल्मको द्वन्द्व निर्देशकमा रोशन विक्रम भट्टराई रहेका छन् ।