पानवारी । नेपाल नगरपालिका कर्मचारी एशोसिएसनको १९ औं स्थापना दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

एशोसिएसनको इकाइ समिति धरानको आयोजनामा शनिबार स्वास्थ्य शिविर सम्पन्न भएको थियो । स्वास्थ्य शिविरमा नगरपालिकाका कर्मचारी लगायत स्थानीले सेवा लिएको इकाइ समिति धरानका उपाध्यक्ष किशोर अधिकारीले बताए । उनका अनुसार नगरपालिकामा सफाइ शाखामा काम गर्ने सम्पूर्ण कर्मचारी लगायतलाई निःशुल्क टिटनास विरुद्धको खोप समेत दिइएको छ । साथै स्वास्थ्य शिविरमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सकहरुले विभिन्न चेकजाँच समेत गरेका छन् ।

स्वास्थ्य शिविरमा ३ जना फिजिसियन, २ जना आँखा रोग विशेषज्ञ, एकजना स्त्री रोग विशेषज्ञ, एक जना छाला रोग विशेषज्ञ, २ जना नर्सिङ स्टाफ र १ जना सहयोगीको टोलीले सेवा प्रवाह गरेको थियो । शिविरमा ८० जना सेवाग्राहीले सेवा लिएको उपाध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

शिविरमा स्वास्थ्य जाँच गराएका सेवाग्राहीहरुलाई निःशुल्क औषधि समेत वितरण गरिएको थियो । साथै शिविरमा स्वास्थ्य जाँच गराउने सेवाग्राहीहरुलाई विपि प्रतिष्ठानमा विभिन्न ल्याब परिक्षण समेत निःशुल्क गरिने व्यवस्था मिलाएको अधिकारीले जनाएका छन् ।

कर्मचारी एशोसिएसनको स्थापना दिवस वैशाख १६ गतेका दिन पर्छ । स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम समेत सम्पन्न भएको थियो । कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको थियो । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग भने रेडक्रस सुनसरीले गरेको थियो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एशोसिएसनका केन्द्रीय सह–कोषाध्यक्ष खगेन्द्र खतिवडाले स्थानीय तहमा नयाँ नयाँ कर्मचारी खटिएर आइरहेको भन्दै नयाँ पुराना सबै कर्मचारी मिलेर देशलाई समृद्धि तर्फ अघि बढाउनुपर्ने विचार व्यक्त गरेका थिए । कार्यक्रममा धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी, निमित्त प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद खतिवडा लगायतले सम्बोधन गरेका थिए ।