शनिश्चरे । झापा दमककी शिक्षिका दुर्गा खनाल काफ्लेले केक काटेर फजुल रुपमा गरिने खर्च नगरी सो वापतको रकमले गुरुकुल विद्यापीठका विधार्थीहरुलाई सहयोग प्रदान गरेर उदाहरणीय काम गरेकी छन् ।
दमक नगरपालिका वडा नं. ९ का पाणिनी माविका शिक्षिका काफ्लेले मंगलवार आफ्नो ५० औं बार्षिक जन्मोत्सव तथा ११ औं गणतन्त्र दिवशको अवसरमा दमक ४ को बशिष्ठ सँस्कृति गुरुकुल विधापीठका विधार्थीलाई दुई थान पलङ्ग, डसना, तन्ना, कापी–कलम र नगद ५ हजार हस्तान्तरण गरेकी हुन् ।
कार्यक्रमकी प्रमुख अतिथि नगरपालिका उपप्रमुख गीता अधिकारीले लोप बन्दै गईरहेको बैदिक सस्ंकार संरक्षण र विकासमा गुरुकुलले गरिरहेको भूमिकामा शिक्षिका खनालको थप भूमिका रहेकोप्रति प्रसंशा व्यक्त गरिन् । साथै उनले सहयोग र दान संकलन गरेर संचालनमा ल्याइएको गुरुकुल विधापीठलाई नगरले गर्न सक्ने शैक्षिक विकास बजेटबाट आवश्यक सहयोग गर्ने समेत वचन दिइन् । झापा, मोरङ्ग, इलाम, सुनसरी, संखुवासभा लगायतका जिल्लाबाट हाल ४० जना विधार्थी अध्ययनरत रहेको विधापीठ सञ्चालनमा समस्या पर्दै गएको प्रधानाध्यापक आचार्य जयराम भट्टराईले उल्लेख गरे ।
विधापीठका अध्यक्ष राजेन्द्र भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष शेरबहादुर भट्टराई, पाणिनी माविका प्रध्यानाध्यापक टिकाराम भण्डारीले सवैले सहयोग गरेर भए पनि लोप हुने क्रममा रहेको बैदिक संस्कारलाई विकास गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा शिक्षिका काफ्लेले सामाजिक रुपमा लोककल्याणकारी काममा उल्लेख्य खर्च गर्दै आएकोप्रति आभार समेत व्यक्त गरिएको छ । तेस्रो मुलुकको संस्कारमा लागेर होटलमा गएर जन्मजयन्ती मनाउँन केक काटेर गरिने खर्च विद्यापीठका विधार्थीहरुलाई आफूले उपलव्ध गराएको शिक्षिका काफ्लेले बताइन् ।
शिक्षिका काफ्लेले आफ्ना तलवको पैसा काटेर समेत विपन्न विधार्थीहरुलाई सहयोग गर्दै आएकी छन् ।