विराटनगर । गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ सरकारले एक प्रकारको सिण्डिकेट प्रणालीको अन्त्य गरेकोले अब सबै खाले तस्करी र कालोबजारीको पनि अन्त्य गर्ने बताएका छन् ।
प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्न शुक्रबार विराटनगर आएका मन्त्रीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अब कसैले पनि कालोबजारी गर्न नसक्ने चेतावनी दिँदै कालोबजारी अन्त्य गर्न सरकारले अनुगमन गरिरहेको बताए ।
‘सरकारले सुशासन, शान्तिसुरक्षा, विकास र समृद्धिलाई महत्व दिएको छ,’ मन्त्री थापाले भने, ‘यसमा कुनै सम्झौता हुन सक्दैन ।’ उनले विभिन्न क्षेत्रमा मौलाएको सेण्डिकेट अन्त्य का लागि सरकारले कसैसंग सम्झौता नगर्ने बताए । उनले भने, ‘वैदेशिक रोजगार, उद्योगलगायत जुनसकै क्षेत्रमा हुने सेण्डिकेट विरुद्ध सरकारले कदम उठाउँछ ।’
थापाले समयमै काम नगर्ने ठेकेदारविरुद्ध सरकारले कठोर कदम चाल्ने पनि दावी गरे । सरकारको काम कानुन हातमा लिने नभइ कानुन कार्यान्वयनमात्र भएको उनले बताए । ठेक्कापट्टाका विषयमा भौतिक पूर्वाधार मन्त्रालयले छानबिन गरिरहेको बताउदै गृहमन्त्री थापाले भने ‘लापारवाही गर्ने निर्माण व्यवसायीलाई भौतिक योजना मन्त्रालयले छानबिन गरिरहेको छ, उनीहरुलाई कारबाही गर्ने सडक विभागले हो, त्यसका लागि गृह मन्त्रालयले सहयोग मात्र गर्ने छ ।’
बजेट भाषणपछि बजारमा मंहगी बढ्यो नि भनी सञ्चारकर्मीले गरेको प्रश्नमा गृहमन्त्री बादलले भने ‘बजेटको कारणले बजार मूल्य बढेको होइन, यदि कसैले अनेक बाहना बनाएर मूल्य बढाएर कालोबजार गर्छ भने त्यस्तालाई सरकारले कारबाही गर्छ ।’
उनले बजेटमार्फत् प्रदेश सरकारलाई थोरै रकम दिएको देखिएको चर्चा गर्दै यो आरम्भ मात्र भएको धारणा प्रकट गरे । मन्त्री थापाले संघीय सरकारले प्रदेश र प्रदेश सरकारलाई बिस्तारै अधिकार सम्पन्न बनाउँदै जाने नीति लिएको स्पष्ट पारे ।