पाँचथर । निर्माण व्यवसायीको हेलचेक्राइका कारण उन्नति समावेशी आर्थिक बिकास कार्यक्रम अन्तर्गत पाँचथरमा सञ्चालन भइरहेको सडक योजनाहरुको १२ करोड रकम फ्रिज हुने देखिएको छ । अधिकांश योजनाहरुको कामले गति नलिए पछि त्यतिका रकम फिर्ता जाने अवस्था आएको हो । सदरमुकाम फिदिममा हालै सम्पन्न समिक्षामा सरोकारवालाहरुले आक्रोस समेत ब्यक्त गरेका छन् । हेलचेक्राइ गर्ने निर्माण कम्पनिलाई कारबाही गर्नुपर्ने जिल्लास्थित सरोकारवालाको माग छ । आर्थिक वर्ष २०७१÷०७२ देखि २०७४ जेठ बीचको विभिन्न मितिमा ११ वटा सडक योजना र एउटा पुलको उन्नति सँग सम्झौता भएको थियो । सम्झौता अनुसार निर्माण कम्पनिले १५ असार २०७५ भित्रमा ती काम सम्पन्न गर्नुपर्ने थियो । तर जिल्ला प्राविधिक कार्यालयका प्रमुख जयराम श्रेष्ठका अनुसार निर्माण कम्पनिले लिएको सात वटा सडक योजनाका काममध्ये दुई वटा मात्रै समयसिमाभित्रै सम्पन्न हुने अवस्था रहेको छ । बाँकि पाँच वटाको समयसिमा सकिंदा सम्ममा ७५ प्रतिशत मात्र प्रगति देखिने अवस्थामा रहेको श्रेष्ठले बताए । यसरी हेर्दा १२ करोड रुपैंयाँ रकम फ्रिज हुने अवस्था रहेको उनको भनाई छ । बाँकि चार वटा सडक योजनाको काम भने उपभोक्ता समिति मार्फत गरिएको थियो । सम्झौता अनुसार काम नगरेर ठूलो रकम फ्रिज हुने अवस्थामा पु¥याउँने ठेकेदारलाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरमा ल्याएरै छाड्नपर्ने नेकपाका नेता मेदिनी खत्री बताउँछन् । काम नगर्ने ठेकेदारलाई प्रशासन कारवाही गर्न पछि नपर्ने प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन् । उपभोक्ता समितिले जिम्मा लिएको सप्तमी–सराङडाँडा सडक र जोरपोखरी–काहुले सडक मर्मतको काम सकिएको छ । उपभोक्ता तर्फकै ढिलो सम्झौता भएका कारण दुई वटा सडक मर्मतको काम पनि सकिन बाँकि रहेका छन् । हेलचेक्राइ गर्ने ठेकेदारलाई कालो सूतिमा राखिने उन्नति प्रोजेक्ट पाँचथरका इन्जिनियर नारायण केशीलेको भनाई छ । यता निर्माण ब्यवसायि केदारनाथ बाँस्कोटाले भने बर्षा, झरी, आवश्यक सामग्रीको अभाव लगायतका कारणले समयमै काम सम्पन्न गर्न नसकिएको बताएका छन् । पाँचथरमा सञ्चालित उन्नती कार्यक्रमका काहुले एकतिन मेमेङ सडक खण्ड १ को काम अहिले ७० प्रतिशत र खण्ड २ को ४० प्रतिशत भएको छ । यसैगरी सुम्निमाचौक, रानीटार सडकको ६० प्रतिशत, काहुले चरिभन्ज्याङ ओयाम सडकको ४५ प्रतिशत पुगेको छ । खेवाथाम खोला सडक पुलको ९५ प्रतिशत, जोरपोखरी काहुले सडक मर्मतको ठेक्का तर्फको ६० प्रतिशत सकिएको छ । गुम्बाडाँडा पौवासारताप सडक निर्माणको ४० प्रतिशत र उत्तरे यासोक सडक निर्माणको काम उपभोक्ता समिति मार्फतको २० प्रतिशत भएको छ । उन्नतिले जिल्ला प्राविधिक कार्यालयको तत्वाधानमा ४५ करोड २० लाख ५१ हजार रुपियाँमा ११ वटा योजनाका लागि सम्झौता गरेको थियो । जस मध्ये अहिलेसम्म ४५.६५ प्रतिशत २० करोड ६३ लाख ८२ हजार रुपियाँ मात्र खर्च भएको जनाइएको छ ।