बिर्तामोड । झापाको अर्जुनधारा–१ मा रहेको हचुमासा सामुदायिक वन उपभोक्ता समुहको कार्यालयमा १० महिना अघिदेखि उपभोक्ताले लगाएको ताला खुलेको छ । सामुदायिक बनका पदाधिकारीले गैरकानुनी रुपमा काठ काटेर लगत समेत नराखी बिक्रि गरेको आरोप लगाउँदै उपभोक्ताले लगाएको ताला आइतबार भएको सर्वपक्षीय भेलाले खोलेको हो । रामप्रसाद निरौला नेतृत्वको समितिले प्रतिबन्धित समयमा वन कार्यालयको आदेश नै नलिई आफुखुसी काठ चिरान गरी बिक्री वितरण गरेको भन्दै असन्तुष्ट उपझोताले गत भदौ ८ गते सामुदायिक बनको कार्यालयमा ताला लगाएका थिए । समितिको कार्यालयमा ताला लगाएपछि सो बनको आन्तरिक लेखापरिक्षण एवं महालेखापरिक्षण समेत हुन सकेको थिएन । १० महिनासम्म कार्यालयमा ताला लगाएपनि समस्या समाधानका लागि सम्बन्धित निकायले प्रभावकारी भुमिका निर्वाह गर्न सकेको थिएन । जिल्ला बन कार्यालयले समस्या समाधानका लागि सेक्टर बन कार्यालय सुरुङ्गाका अधिकृत एकराज दहालको नेतृत्वमा छानविन समिति गठन गरेको थियो । तर, छानविन समितिको प्रतिवेदनलाई असन्तुष्ट उपभोक्ताहरुको समुहले अस्विकार गरेपछि समस्या समाधान भएको थिएन । असन्तुष्ट मध्येका एकजना उपभोक्ता बिजेन्द्र एक्तेनले एकपक्षीय रुपमा छानविन प्रतिवेदन आएको भन्दै त्यो प्रतिवेदन नमानेको बताएका थिए । असन्तुष्ट उपभोक्ताले अनियमित गर्ने बन समितिका पदाधिकारीले राजिनामा दिनुपर्ने, छानविन गरेर दोषीमाथि कडा कारवाही गर्नुपर्ने लगायतको माग राख्दै समितिको कार्यालयमा तालाबन्धी गरेका थिए । असन्तुष्ट उपभोक्ताको माग बमोजिम भदौसम्म समयावधि रहेको समितिले राजिनामा गरेर पुन निर्वाचन भएको हो । निर्वाचनबाट अर्काे समिति आएपछि बसेको सर्बपक्षीय भेलाले समितिको कार्यालयमा लगाएको ताला खोलेको हो । गत चैत २८ गतेको भेलाले १३ बुँदे सहमति गरेको र ३० गतेको आम भेलाले ताला खोली कार्यालय सञ्चालन गर्ने सर्वपक्षीय निर्णय भएको समितिले जनाएको छ । भेलामा सेक्टर वन कार्यालय सुरुङ्गाका अधिकृत एकराज दाहाल, अर्जुनधारा नगरपालिका वडा नम्बर १ का अध्यक्ष गजाधर खतिवडा, प्रहरी चौकी शनिश्चरेका सुरेश संग्रौला, वन उपभोक्ता समुहका पूर्व अध्यक्ष रामबहादुर निरौला, निवेदक पक्षका उपभोक्ता प्रतिनिधि चन्द्र प्रसाईको उपस्थिति रहेको थियो । साथै नेकपा एमालेका प्रतिनिधि भक्तिप्रसाद कोइराला, नेपाली काँग्रेसका प्रतिनिधि विष्णु चम्लागाई, नेकपा माओवादी केन्द्रका प्रतिनिधि विजेन्द्रकुमार एक्ेतनसहित विभिन्न स्थानीय संघ÷संस्थाका प्रतिनिधि र उपभोक्ताको उपस्थितिमा ताला खोलिएको हो । भेलाले काठदाउरा बिक्री वितरण र बैंक कारोवार बाहेकका अन्य कार्य सञ्चालन गर्ने निर्णय समेत गरेको छ । कार्यक्रम समितिका नवनिर्वाचित अध्यक्ष युवराज लोहारको अध्यक्षतामा सम्पन्न भएको थियो ।