इलाम/ इलाममा निर्माणाधिन सुकिलुम्वा विमानस्थल अब परिक्षण उडानका लागि तयार भइसकेको छ । पटक–पटक परिक्षण उडान हुन्छ भन्ने हल्ला सुनेका स्थानियले अब भने आकाशमा इलामबाटै उडेको प्लेन हेर्न पाउने भएका छन् । विमानस्थलमा कार्यरत इन्जिनियर सन्दिप मिश्रका अनुसार निर्माणाधिन विमानस्थल परिक्षण उडानका लागि तयार भएको हो ।
अब पनि धावन मार्ग परिक्षण उडानका लागि तयार भइसकेको इन्जिनियर मिश्रको भनाई छ । मौसमले साथ दिएमा सोमबाट इलामको आकासमा प्लेन देख्न सकिने छ ।यसअघि हुने भनिएको विमानको उडान परिक्षण पटक–पटक प्रभावित भएको थियो । गत जेठ ३ गते नै परिक्षण उडानका लागि मैदान तयार गरिएपनि वर्षातका कारण उडान हुन सकेको थिएन ।
त्यस्तै जेठ १४ गते समेत त्यहाँ परिक्षण उडानका लागि मैदान तयार गरियो । परिक्षण उडानका लागि तयार पारिएको तारा एयरका पाइलट थाइलैण्ड गएका कारण सो दिन समेत उडान हुन नसकेको नागरिक उड्यान मन्त्रालयले जानकारी दिएको छ । नागरिक उड्यन प्राधिकरणले आगामी सोमबारलाई विमान उडान परिक्षण गर्ने तयारी गरेको छ ।
विमानस्थलमा जहाज उडान परिक्षणका लागि प्राधिकरणले तारा एयरसँग सम्झौता गरेको छ । उडान परिक्षणका लागि तारा एयरका पाइलटले विमानस्थलको अवस्था जाँच गरी फर्केका छन् । प्राधिकरणले गत साल वैशाखमा नै उडान परिक्षण गर्ने बताएपनि मिति भने सारिरहेको छ । गत चैत्र सम्म परिक्षण उडानको तयारी गर्ने भएपनि निर्माण नसकिएकाले पछाडि सरेको बताइएको छ । निर्माण व्यवसायी मोहन गुरुङले पटक–पटक विमानस्थलमा तयारी गरेपनि लोडर लगाएको ठाउँ पानी परेर खोलिएको गुनासो गरे ।
उनले विमानस्थल भिरालो र माटो मात्र भएकाले पानीले निर्माण प्रभावित पारेको बताए ।रनवेको लागि करिब एक करोडमा ठेक्का लागेको बताइएको छ । सो कार्यका लागि काष्ठमण्डप निर्माण सेवा प्रालिले सम्झौता गरेको थियो । मौसमले साथ दिएमा उडान सफल हुने बताइएको छ । परिक्षण उडान पछि मात्र विमानस्थलमा बजेट थप हुने साथै यसको काम अघि बढ्ने भएपछि चाडो परिक्षण उडान हुनु पर्ने स्थानीयको माग छ ।
स्थानीय दिनेश खड्काले चाडो काम अगाडी बढाउनु पर्ने बताए । उनले लामो समय अघि देखिको स्थानीयले प्रतिक्षा गरेकाले पनि प्रतिक्षाको घडी नलम्याउन आग्रह गरे ।त्यस्तै स्थानीय गोविन्द चौहान भन्छन् वर्षेनी माटो बगाउने गर्दा स्थानीय पनि जोखिममा छन् । चाडो भन्दा चाँडो बजेट विन्योजन गरेर रन वे कालो पत्रे गरिदीए हुन्थ्यो ।
विमानस्थलको सात सय मिटर लम्बाइ र अधिकतम ६० मिटर चौडाइ रहेको छ । यसका साथै विमानस्थलबाट भल पहिरो गएको र ढल व्यवस्थापनका लागि माइखोलासम्म नै ढल व्यवस्थापन कार्य नौ करोडमा काम भइरहेको छ । माइखोलादेखि पहिरोको जोखिम कम गर्नका लागि आठ वटा क्यास्केट र व्यवस्थित नाली निर्माण भइरहेको छ । यो विमानस्थल निर्माण सम्पन्न भएपछि पाँचथर, इलाम सहित भारतको, दार्जिलिङ, सिक्किम गायतका स्थानियलाई समेत सजह हुनेछ ।
हाल सम्ममा रनवेमा सुरुदेखि सम्याउन र यस अवस्थासम्म ल्याउनका लागि आठ करोड र ढल निकासका लागि ९ करोड खर्च भइसकेको छ अब पुरा निर्माण सक्न करिब ३५ करोड आवश्यक रहेको बताइएको छ । अब टर्मिनल भवन सहित सुरक्षाका लागि तारबार ग्राभेल सहित पिचका लागि सो रकम आवश्यक पर्ने बताइएको छ । धमाधम काम भए करिब दुई वर्षमा निर्माण कार्य पुरा हुने बताइएको छ ।