ताप्लेजुङ/ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं ५ वाट प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटा सहित दुई जनालाई पक्राउ गरेको छ । झोलामा लुकाई राखेको १ के.जि ५०० ग्राम खपटासहित सोहि ठाउँ बस्ने ३८ वर्षिय सन्तोष कुमार लिम्बु र २९ वर्षिय मंगलसिंह लिम्बुलाई शुक्रबार दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दोभानका सई हिरालाल यादबले जानकारी दिनुभयो ।

त्यस्तै शुक्रबार नै सिदिङ्वा गाउँपालिका–४ साब्लाखुबाट एक थान भरुवा बन्दुक बरामद गरेको छ । घरमा फोन नंम्बरसहितको स्टिकर टाँस गर्ने क्रममा स्थानीय यम कुमार राईको घरमा ढोका पछाडि लुकाई राखेको एक नाले भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रहरी प्रमुख लक्ष्मण बहादुर मगरले जानकारी दिए । घरधनी घरमा नभएको र खोजि कार्य भइरहेको मगरले बताए ।