विराटनगर । प्रदेश नम्बर १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियतले धार्मिक पर्यटन क्षेत्रको उचित व्यवस्थापन गरेमा प्रदेशको आर्थिक समृद्धि कायम हुने बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर १ ले विराटनगरमा सोमबार आयोजना गरेको उद्योग, पर्यटन वन तथा वातावण मन्त्रालयको काम र आगामी कार्य योजना विषयक संचारकर्मी र सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कुसियतले यस्तो बताएका हुन् । उनले प्रदेशमा रहेका ३५ वटा भन्दा वढी हिमालयहरुको उचित प्रचार प्रसार गर्न सकेमा विदेशी पर्यटकको कमी नहुने बताए । मन्त्री कुसियतले विराटनगरदेखि बर्जुताल, कोशी टप्प, रामधुनी, चतरा, वराह क्षेत्र, दन्तकाली, पिण्डेश्वर, वुडासुव्वा , भेडेटार , नमस्ते झरना जाने एक करिडोरे निर्माण गरेमा छिमेकी मुलुक भारतको पश्चिम वंगाल, विहार, सिक्कीम र वंगलादेशका दशौं लाख पर्यटकको आमगमन प्रदेशमा भई ती मुलुकसंगको व्यापार घाटा कम हुने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रदेश मन्त्रालयका सचिव किशोरचन्द्र गौतमले प्रदेश नं १ को चालु आर्थिक वर्ष मा संचालित कार्यक्रमहरु र आगामी आर्थिक वर्ष २०७५÷७६ को प्रस्तावित नीति तथा कार्यक्रमको खाका प्रस्तुत गरे । उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक गाउँपालिका एक फर्निचर, एक वन एक उद्यम कार्यक्रम संचालन गर्ने भन्दै वैज्ञानिक वन कार्यक्रम संचालन गरी वार्षिक ७ लाख क्यूविक काठ उत्पादन गर्ने जानकारी दिए । महासंघ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइटेलको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रदेश सरकारका विज्ञ सल्लाहकार सोम अधिकारी,महासंघका केन्द्रीय सदस्य सवगेन्द्र जवेगु, महासंघ प्रदेश महासचिव विवेक गौतम र महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष यज्ञ शर्माले बोलेका थिए ।