धनकुटा । आफ्नै विभागको बदनाम हुने गरी सशस्त्र प्रहरीको संलग्नतामा कार्यालयकै गाडीमा प्रतिबन्धित सखुवाको काठ अवैधरुपमा तस्करी गरिएको विषयमा जिल्ला वन कार्यालय धनकुटाले आवश्यक कारबाही गर्न शुक्रबार अनुसन्धान अधिकृत तोकेको छ । सहायक जिल्ला वन अधिकृत शिवशङ्कर ठाकुरलाई काठ तस्करीका विषयमा अनुसन्धान गर्न अनुसन्धान अधिकृतको रुपमा तोकिएको जिल्ला वन अधिकृत श्रीकृष्णप्रसाद वस्तीले बताएका छन् । सङ्खुवासभा जिल्लाको चैनपुरस्थित अरुण गुल्मका सशस्त्र प्रहरीका डिएसपी रामप्रसाद भण्डारीको संलग्नतामा वा.१ झ १६६९ नम्बरको ट्रकमा राखेर अवैध ढङ्गले विराटनगरतर्फ लाँदै गरेको सखुवाको काठ १ सय ८४ थान फेन्टा सोमबार राति सशस्त्र प्रहरीले मूलघाटमा पक्राउ गरेको थियो । बरामद गरिएको काठ सशस्त्र प्रहरीको बेसक्याम्प मूलघाटमा राखिए पनि वा.१ झ १६६९ नम्बरको सशस्त्रको गाडी भने पकलीस्थित वाहिनीमा पु¥याइएको थियो । वन पैदावारसँग सम्बन्धित कुनै वस्तु पक्राउ पर्ने बित्तिकै जिल्ला वन कार्यालयमा बुझाउनु पर्नेमा सशस्त्रले अनुसन्धानको लागि भन्दै ३ दिनसम्म मूलघाटमै राखेको थियो । जिल्ला वन कार्यालय धनकुटाले पनि सरकारी कार्यालयसँगको घटना भएको भन्दै चासो नदिएपछि ब्लाष्टले काठ बरामद र अवैध तस्करीको विषयमा जेठ २३ गते समचार प्रकाशन गरेको थियो । ब्लाष्टले समचार प्रकाशन गर्ने क्रममा काठ तस्करीमा सशस्त्रका डिएसपीको संलग्नता पुष्टि, सिस्ने आहाले सामुदायिक वन सङ्खुवासभाले पनि गैह्रकानूनी ढङ्गले काठ दिएको प्रमाणित, धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले २ घण्टा गाडी नियन्त्रणमा लिएर छाडेको, अनुसन्धानको नाममा सशस्त्रले किन गर्दैछ आफू खुशी लगायतको विषयमा समचार प्रकाशन गरेको थियो । बरामद गरेको काठ बिहीबार राति ११ बजे सशस्त्र प्रहरीको पकलीस्थित वाहिनीबाट खटिएका डिएसपी डम्बरबहादुर विष्टको कमाण्डमा बुझाइएको थियो । जिम्मा लगाइएको सखुवाको १ सय ८४ थान चिरान काठ अर्थात् ९२.९८ क्यु.फिट रहेको जिल्ला वन अधिकृत वस्तीले बताए । सरकारी दररेटमा प्रति क्यू.फिट ८ सयको दरले पनि जिम्मा लगाइएको काठको बजार मूल्य ६ लाखभन्दा बढी हुने बताइएको छ । तस्करीमा संलग्न डिएसपी रामप्रसाद भण्डारी र गाडी चालकलाई वन ऐन २०४९ अनुसार कारबाही गरी पेश गर्न अनुसन्धान अधिकृत शिवशङ्कर ठाकुरलाई जिम्मेवारी दिएको वस्तीले बताएका छन् । अनुसन्धानको क्रममा खोजी भएको बखत काठ बोक्ने गाडी, गाडी चालक र सम्बन्धित गुल्मका गुल्म प्रमुखलाई उपस्थित गराउने शर्तमा कारबाही गर्न अनुसन्धान अघि बढाएको बताइएको छ । सो घटनाको विषयमा छानविन गर्न सशस्त्र प्रहरी बल पकलीका तर्फबाट एसपी गुणाखर खनालको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ । छानविन समितिमा सदस्यद्वय गमबहादुर कुँवर र इन्स्पेक्टर भोला खत्री रहेका छन् ।