पानवारी । धरानमा तीनदिनसम्म चलेको इष्ट टुरिजम मार्ट शनिबार समापन भएको छ । विभिन्न ५ देशका पर्यटन व्यवसायी सम्मिलित मार्टमा पूर्वका विभिन्न पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिएको थियो । मार्टको समापन गर्दै प्रदेश नं. १ का सभामुख प्रदीप भण्डारीले प्रदेश आत्मनिर्भर हुँदै समृद्धितर्फ जाने मार्गमा रहेकोले पर्यटनले त्यसलाई ठूलो टेवा पुर्याउने विश्वास व्यक्त गरेका थिए । उनले मार्टको उद्घाटन कार्यक्रममा नै प्रदेशका मुख्यमन्त्रीले पर्यटनलाई प्रमुख प्राथमिकतामा रहेको कुरा बताएको स्मरण गर्दै एक नं. प्रदेशको विकास र समृद्धिमा पर्यटन उद्योगको भूमिका अत्यन्तै महत्वपूर्ण हुने बताए । पर्यटन बोर्डको आयोजना तथा धरान उपमहानगपालिकाको संयोजनमा भएको इष्ट टुरिजम मार्ट मुलुककै पहिलो पर्यटन मार्ट भएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले सगरमाथामा तेन्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीले पाइला राखेपछि नेपालको पर्यटनको शुरुवात पूर्वबाटै भएको स्मरण गर्दै एक महिनाभन्दा छोटो समयमा शानदार मार्टको सफल आयोजना गरेको भन्दै स्थानीय व्यवस्थापन समितिलाई बधाई दिएका थिए । उनले मार्टमा प्रदर्शन गरिएको एक नं. प्रदेशका पर्यटकीय गन्तव्य समेटेको भिडियो, कार्यक्रममा राखिएका फ्लेक्स बोर्ड, ब्रोसर, भारतका प्रमुख शहरहरुमा पुगेर गरेको प्रचार–प्रसार र अन्तर्राष्ट्रिय मिडियालाईसमेत आकर्षित गर्न सकेको भन्दै स्थानीय व्यवस्थापन समितिको प्रशंसा गरेका थिए । उनले मार्टले एक नं. प्रदेशका १४ वटै जिल्लालाई नेटवर्किङ गर्न सहयोग पुगेको र पर्यटन बोर्डसमेत त्यसमा सँगसँगै हिँड्न तयार रहेको बताएका थिए । कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण अर्याल, धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीलगायतले मन्तव्य राखेका थिए ।