बेलबारी। मोरङको सुन्दरहरैंचा र बेलबारी नगरपालिकामा एकपछि अर्को पर्यटन संग जोडिएका योजनाहरु निर्माण हुन थालेको छ । पछिल्लो समयमा सुन्दरहरैंचा १० र बेलबारी २ मो सिमानामा पर्ने किस्तीको शीरमा पानीको मुहान संरक्षणका लागि पोखरी बन्दैछ ।
जंगलको छेउमा बन्न लागेको पोखरीलाई स्थानीयहरुले पर्यटन संग जोडेर निर्माण कार्यमा लागेका छन् । स्थानीय सुकुना सामुदायिक वन र बाग्देवी सामुदायिक वनको क्षेत्रमा रहेको पोखरीलाई बाग्देवी सुकुना किस्ती वाटर रिचार्ज पोण्ड निर्माण तथा उपभोक्ता समिति गठन गरि निर्माण कार्य शुरु भएको छ ।
करिब ८ देखि ११ हेक्टर सम्म जलसाय क्षेत्र हुने गरि पोखरी निर्माण हुन लागेको हो । पोखरी निर्माणका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्र्तगत ७० लाख रकम विनियोजन गरेको छ । स्थानीय वन समुहरुले १४ लाख र दुईवटा नगरपालिकाले १० लाख गरेर जम्मा ९४ लाखको निर्माण कार्य भईरहेको चुरे संरक्षणका प्राविधिक नागेन्द्र शाहले बताए ।
हाल २ सय १० मीटर लम्वाई र ४ मीटर अग्लो वाल उठाईएको छ । वालको अगाडि २ सय २० मीटरको ढुंगा सहितको तारजाली लगाउने योजना रहेको छ । चुरेको माटो चुरेलाई , सफा पानी हामीलाई भन्ने मुख्य नाराका साथ निर्माण गरिएको पोखरीबाट स्थानीय कृषकलाई सिचाई सुविधा , पानीको श्रोतको संरक्षण, जीवजन्तु र वनस्पतिहरुका लागि प्रत्यक्ष लाभान्वित हुने शाहले बताए ।
साथै यस पोखरीले बाघझोडा पोखरीको पानी सतहलाई उकास्न पनि सहयोग बताएका छन् । बाँध निर्माण भएपछि किस्ती पोखरी पूर्वकै ठूलो पोखरी हुने शाहले बताए । खाली जमिनमा स्थानीयहरुले वृक्षारोपणको तयारी गरिरहेको अवस्थामा यसलाई वाटर रिचार्ज पोण्ड बनाउन चुरे संरक्षण समितिले सल्लाह बमोजिम निर्माण कार्य थालनी गरिएको समितिका अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।
पोखरी निर्माण पछि पर्यटन संग सम्वन्धित निर्माण कार्यहरु गरिने समितिका सचिव फणिन्द्र थापाले बताए । बाघझोडा पोखरी र धिमाल जातिहरुको देवस्थल नजिकै रहेको किस्ती पोखरीमा मत्स्य पालन, बोटिङ लगायतका योजनाहरु ल्याईने समितिले जनााएको छ ।
पानीको मुहानको संरक्षणले स्थानीय कृषक, वन्यजन्तु र वनस्पति प्रत्यक्ष रुपमा लाभान्वित छँदैछन् । यसको विस्तार विकासले भविष्यमा किस्ती पोखरी सुन्दर पर्यटकीय क्षेत्र बन्ने संभावना रहेको छ ।