भद्रपुर। झापाको चाराआली–केचना सडक खण्ड अन्तरगत खनिएको नालामा डुबेर एक बालिकाको मृत्यु भएको छ । भद्रपुर नगरपालिका १ हिमाली चोककी अढाई बर्षीया रेविका तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बुधवार बेलुका ७ बजे घर छेऊ खनिएको सडक नालामा जमेको पानीमा बालिका डुबेको अवस्थामा स्थानीयले देखेका थिए । बेहोस भएकी बालिकालाई उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा मृत्यु भएको डिएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । खेल्ने क्रममा नहरमा पुगेको हुन सक्ने प्रहरीको अनुमान छ । चाराआली केचना सडक खण्ड अन्तरगत एकबर्ष अघि भद्रपुरको एसपी मोड छेऊमा खनिएको पानीमा डुबेर एक बालकको मृत्यु भएको थियो भने एक गम्भिर घाइते भएका थिए । सघन शहरी विकासले यो बर्ष भद्रपुर नगरका सडक विस्तार गर्ने क्रममा नाला त्यसै छोडेकोले थप दुर्घटना हुनसक्ने स्थानीय बताउँछन् ।