सिरहा । बुधबार सिरहाको कर्जन्हा नगरपालिकाको कार्यालयमा अज्ञात समुहले आगजनी गरेका छन् ।
कर्जन्हा नगरपालिका बडा नं. ११ स्थित बगहामा रहेको नगरपालिकाको कार्यालयमा अज्ञात समुहले गरेको आगजनीले कार्यालयको झ्याल, ढोका र फर्निचर लगायतका समानहरुमा क्षति पुगेको छ ।
नगरपालिकाका मेयर गंगा पासवानले नगरपालिकाको केन्द्र भाड्ने नियतले आगजनी गराएको स्थानिय रोशन साहले आरोप लगाए ।
नगरपालिकाको साबिक केन्द्र बगहा रहेपनि मेयर पासवानले कर्जन्हा बजारमा राख्ने पक्षमा रहेकोले स्थानियहरुले बगहा केन्द्र राख्नुपर्ने भन्दै अदालतमा मुद्धा दिएको थियो । अदालतले कर्जन्हा नगरपालिकाको केन्द्र बगहा राख्नुपर्ने आदेश समेत दिएको स्थानिय अनिल महतोले बताए ।
आगजनीको विरुद्धमा सडकजाम कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमानले आफ्नो स्वार्थका लागि नगरपालिकामा आगजनी गराएको भन्दै स्थानियहरुले पुर्वपश्चिम लोकमार्गको वस्तिपुर मिर्चैया सडकखण्ड अन्तर्गत बगहामा चक्काजाम गरेका थिए ।
कार्यालयमा आगजनी गर्ने समुहको पक्राउ गरी कार्वाही गनुपर्ने माँग गर्दै आज करीब विहान १०ः३० बजेदेखि १२ बजेसम्म रोडजाम गरिएको स्थानिय रोशन साहले बताए ।
मेयर पासमानलाई बोलाई छलफल गर्ने सहमति पश्चात रोडजाम खोलिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक कैलाश चौधरीले बताए ।
कर्जन्हा नगरपालिकामा लामो सायदेखि केन्द्रको विषयमा बिबाद हुदै आएको छ । आगजनीले नगरपालिकाको दैनिक काम काज ठप्प भएको बताईएको छ ।